काठमाडौं । नुवाकोटमा सत्ता गठबन्धनबीचको भागबण्डामा नेकपा एकीकृत समाजवादीले एक मात्र प्रदेशसभा पाएको थियो । तर, उम्मेदवारी मनोनयनको मुखैमा आएर कांग्रेस र माओवादीले समाजवादीले पाएको प्रदेशसभाको टिकट खोसेका छन् ।
भागबण्डामा समाजवादीले प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को (क) पाएको थियो । समाजवादीले उक्त क्षेत्रबाट पूर्वसांसद राजेन्द्रप्रकाश लोहनीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर कांग्रेस र माओवादीले प्रदेशसभामा पहिला पाएका क्षेत्र परिवर्तन गरेका छन् ।
प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ कांग्रेस, प्रदेश (क) समाजवादी र (ख) माओवादी केन्द्रले लिने सहमति थियो । प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवारी दिँदैछन् ।
प्रदेश (क) मा समाजवादीबाट लोहनी र (ख) मा माओवादीबाट राममाया बोगटीले टिकट पाएका थिए । अब भने यसअघि समाजवादीले पाएको प्रदेश (क) माओवादी र (ख) कांग्रेसले लिने भएका छन् । प्रदेश (क) माओवादीका राप्रप्रसाद ढुंगाना र (ख) मा कांग्रेसका बहादुरसिंह लामा उम्मेदवार बन्ने भएका छन् । ढुंगाना पञ्चायतकालकालीन उपसभापति हुन् भने समानुपातिकतर्फबाट लामा निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया