काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण तथा साहसिक पत्रकारिताको अपेक्षा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा नागरिकलाई सही र समयमै सूचना प्रवाह गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताएका हुन् ।
उनले नेपाल प्रहरीले सञ्चारकर्मीको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने उल्लेख गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपरोस् भन्नेमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्कीले लेखेका छन्, ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ । साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।’
आईजीपी कार्कीको उक्त अभिव्यक्ति पत्रकार पक्राउ परेको घटनाको भोलिपल्ट सार्वजनिक भएको हो । शुक्रबार प्रहरीले विभिन्न सञ्चारगृहमा पुगेर केही पत्रकारलाई नियन्त्रणमा लिएको थियो ।
पत्रकार पक्राउ परेको घटनाप्रति सञ्चार क्षेत्रबाट व्यापक विरोध भएपछि प्रहरीले साँझ नियन्त्रणमा लिएका पत्रकारहरूलाई रिहा गरेको थियो ।
यस घटनापछि आईजीपी कार्कीले पत्रकारितामा अवरोध हुन नदिने प्रतिबद्धता सार्वजनिक गर्नुलाई सञ्चार क्षेत्रले अर्थपूर्ण रूपमा हेरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया