आउँदै गरेको स्थानीय तहको चुनावमा विशेषगरी सत्तारुढ गठबन्धन र एमालेबीचको जुहारी सतहमै देखिने पक्का छ । अझ महानगर र उपमहानगरमा त दुवै पक्षले अस्तित्व रक्षाको रूपमा यस निर्वाचनलाई लिएका छन् ।
११ वटा उपमहानगरमध्ये ७ वटामा जित हाँसिल गरेको एमाले यस पटक पनि उपमहानगरमा आफ्नो दबदबा कायमै राख्न चाहन्छ । उता एमालेबाट अलग्गिएको नेकपा (एस) र माओवादी कांग्रेससँग सहकार्य गरेर जसरी भए पनि नेकपा एमालेलाई हराउने रणनीतिमा देखिन्छ । कांग्रेस पनि गठबन्धन गरेर भए पनि आफूलाई बलियो पार्टीको रूपमा स्थापित गर्नेतर्फ देखिन्छ ।
२०७४ मा भएको उपमहानगरको चुनावी परिणाम र अहिलेको दलगत तालमेललाई हेर्ने हो भने अब हुनसक्ने परिणाम यस्तो देखिन्छ ।
१ नम्बर प्रदेश
इटहरी उपमहानगरपालिका
२०७४ को स्थानीय चुनावमा इटहरीको मेयरमा एमालेले जित हासिल गरेको थियो । नेपाली कांग्रेसले १९ हजार ९८५, माओवादी केन्द्रले ३ हजार ३६४, संघीय फोरमले ७० मत पाउँदा एमालेले २२ हजार ६८९ मतसहित विजय हासिल गरेको थियो ।
अहिलेको अवस्थामा इटहरी उपमहानगरको चुनावलाई हेर्ने हो भने तराजुको एकातिर गठबन्धन अर्कोतर्फ एमालेबराबर देखिन्छ । तर, एमालेबाट माधव नेपाल समूह बाहिरिएसँगै इटहरीमा एमालेको अवस्था ठ्याक्कै आकलन गर्न मुस्किल छ । २०७४ सालकै अवस्थामा मतदाताहरू रहने हो भने लडाइँ टक्करकै रहने निश्चित छ । तर, थपिएका २६ हजार ९२९ मतदाताले कसको पोल्टामा मेयर पारिदिन्छन् त्यो भने ३० गते नै थाहा हुनेछ ।
यस पटक एमालेले समय–समयमा विवादमा तानिने गरेका मेयर द्वारीकलाल चौधरीलाई निरन्तरता नदिई यम कुमार सुब्बालाई मेयरको पदमा उठाएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट भने इटहरीमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार उठ्नेछन् ।
धरान उपमहानगरपालिका
धरानमा २०७४ र २०७६ मा गरी दुई पटक मेयर पदका लागि चुनाव भयो । पहिलो चुनाव नेकपा एमालेले जिते पनि दोस्रो पटकको चुनाव भने नेपाली कांग्रेसले जितेको थियो ।
२०७४ मा नेकपा एमाले एक्लै चुनावी मैदानमा आएको थियो र मेयर पदमा सहजै जित हासिल गरेको थियो । तत्कालीन मेयर तारा सुब्बाको निधनपछि २०७६ मा भएको उपनिर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्र मिलेर पनि नेपाली कांग्रेसलाई हराउन सकेको थिएन । जहाँ नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले २६ हजारभन्दा बढी मत ल्याउँदा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले २३ हजार मत पाएको थियो । २०७४ को चुनावमा भने नेकपा एमाले एक्लैले २० हजार मत ल्याउँदा नेपाली कांग्रेस १६ हजार तथा माओवादी केन्द्र ११ हजार मतमा सीमित भएका थिए ।
विगतको निर्वाचनलाई हेर्दा धरानमा यस पटक सत्तारुढ गठबन्धन र नेकपा एमाले दुवै पक्षलाई निर्धक्क हुने अवस्था भने छैन ।
सुदूरपश्चिम प्रदेश
धनगढी उपमहानगरपालिका
२०७४ को चुनावमा १४ हजार ३२४ मतका साथ नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा जित हासिल गरेको थियो । जहाँ नेकपा एमालेले ९ हजार मत पाउँदा माओवादी केन्द्रले १० हजार मत पाएको थियो ।
आकडालाई र विगतको निर्वाचनलाई समानान्तर रूपमा हेर्ने हो भने सत्तारुढ गठबन्धनको पक्षमा परिणम पक्काजस्तै देखिन्छ । धनगढी उपमहानगरलाई नेपाली कांग्रेसको पक्कड क्षेत्रको रूपमा समेत लिइन्छ ।
र, धनगढीका व्यवसायी गोपाल हमाल यस पटक पनि स्वतन्त्र रूपमा मेयरका लागि उठ्ने भएपछि माहोल झनै तातिएको छ । यस पटक थप १६ हजार ७२१ नयाँ मतदाता थपिएकाले सुदूरपश्चिमको एक मात्र उपमहानगरको यो लडाइँमा तीनै पक्षबीच कडा टक्कर देखिने पक्का छ ।
लुम्बिनी प्रदेश
तुलसीपुर उपमहानगरपालिका
गत स्थानीय तहको चुनावमा तुलसीपुर उपमहानगर पनि एमालेकै पोल्टामा परेको थियो । २२ हजार मतका साथ नेकपा एमाले विजयी भएको थियो । निकटतम प्रतिद्वन्दीको रूपमा रहेको नेपाली कांग्रेसले १८ हजार ९०३ मत पाएको थियो ।
अहिलेको सत्ता गठबन्धनले पनि तुलसीपुरको मेयरमा नेपाली कांग्रेसलाई नै अघि सारेको छ । यस हिसाबमा अहिले माओवादी र कांग्रेसको साझेदारी हुँदा नतिजा जे पनि हुनसक्छ । तर, निर्णायक भने थपिएका ३० हजार ७८४ मतदाता नै हुनेछन् ।
घोराही उपमहानगरपालिका
घोराही उपमहानगरमा यस पटक गठबन्धनको तर्फबाट मेयर पद माओवादीको पोल्टामा परेको छ । यसअघिको निर्वाचनमा घोराहीमा तेस्रो पार्टी बनेको माओवादी, गठबन्धनको आडमा यस पटक मेयर पद फुत्काउने दाउमा छ।
माओवादीले १२ हजार मत ल्याउँदा नेकपा एमाले २२ हजार मतका साथ विजयी भएको थियो । उता कांग्रेस १७ हजार मतका साथ दोस्रो पार्टी बनेको थियो । मात्र १२ हजार मत ल्याएको माओवादीलाई मेयर दिने सत्ता गठबन्धनको निर्णय सही होला या नहोला त्यो वैशाख ३० पछि थाहा हुनेछ ।
थपिएका ३४ हजार ५०० नयाँ मतदाताले माओवादीको सपना सकार पार्लान् वा चकनाचुर त्यसको चुनावी परिणामसम्म सबैले प्रतीक्षा गर्नै पर्नेछ ।
नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्जमा यही पार्टी हाबी छ भनेर उसै भनिहाल्ने अवस्था छैन । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी, तत्कालीन संघीय समाजवादी फोरम अहिलेको जनता समाजवाद पार्टी, राप्रपा यीमध्ये जसको पनि पक्षमा चुनावी नतिजा पर्न सक्छ ।
यसअघि १२ हजार मत ल्याएर विजयी भएका धवलशमशेर राणा यस पटक उम्मेदवार छैनन् । तर, यसअघि अहिलेका सत्तारुढ गठबन्धनले ल्याएको २१ हजार मत हेर्दा गठबन्धन हाबी देखिएको छ । उता राप्रपा कुनै पार्टीसँगको तालमेलबिनै मैदानमा उत्रिने भएसँगै यसअघि ६ हजार ९६५ मात्र मत पाएको एमाले कमजोर देखिएको छ । अब लडाइँ राप्रपा र सत्तारुढ गठबन्धनबीच हुने पक्का छ । नेपालगञ्जमा यस पटक १९ हजार ३९७ नयाँ मतदाता थपिएका छन् ।
बुटवल उपमहानगरपालिका
बुटवल उपमहानगरपालिकाको लडाइँ नेपाली कांग्रेस र नेकपा एमालेबीचको रहनेछ । नेकपा एमालेबाट अलग भएको नेकपा (एस) पनि बुटवलमा खासै हाबी देखिँदैन । माओवादी तथा अन्य दलले पनि बुटवलमा खाता खोल्नेबाहेक अरु उपस्थिति देखाउन नसकेको २०७४ सालको स्थानीय तहको चुनावको परिणमले देखाउँछ ।
नेकपा एमालेले २३ हजार मत ल्याएर मेयरमा विजयी हुँदा नेपाली कांग्रेसले २० हजार मत पाएको थियो । जहाँ अन्य सबै पार्टीले पाएको मत जम्मा १ हजार ८६१ रहेको थियो ।
गठबन्धन गरे पनि मैदानमा कांग्रेस एक्लै लड्नुपर्ने परिस्थितिका कारण एमालेलाई बुटवलमा सहज देखिन्छ । तर, प्रदेश राजधानी बुटवलबाट सार्ने निर्णय गरेका कारण एमालेप्रति बुटवलवासी केही रुष्ट देखिन्छन् । यसले नेकपा एमालेलाई असर पर्ने पक्कापक्की छ । तर, यस पटक थपिएका २३ हजार ४०२ नयाँ मतदाताले कसलाई जिताउने हुन् वैशाख ३० पछिको परिणामले देखाउनेछ ।
मधेश प्रदेश
जनकपुर उपमहानगरपालिका
यस पटकको जनकपुरको चुनाव रोचक हुने देखिएको छ । यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टीले सहजै जित हात पारेको जनकपुरमा यस पटक यसै भइहाल्छ भन्ने अवस्था छैन । राजपा अहिले लोसपामा परिणत भइसकेको छ ।
रोचक त के छ भने सत्ता गठबन्धनमा लोसपा समावेश भएको छैन । तर, तत्कालीन राजपाको महेन्द्र नारायण पक्ष जसपामा समावेश भएकाले अवस्था फरक देखिएको छ । उता तत्कालीन अवस्थाको राजपासँग भएको मतभार लोसपा र जसपामा बाँडिने देखिएको छ । सत्ता गठबन्धनले जसपाको भागमा मेयर पद दिइसकेको छ ।
२०७४ को निर्वाचनमा राजपापछिको बलियो पार्टीको रूपमा रहेको कांग्रेसले जसपालाई गठबन्धनको रूपमा सहयोग गर्दा मेयर पद जसपाको पोल्टामा निश्चितजस्तै देखिन्छ । जनकपुरमा नेकपा एमालेको प्रभाव कांग्रेसभन्दा कम रहेकाले मेयरमा जित हुने कुनै आधार देखिँदैन ।
पछिल्लो स्थानीय तहको मतपरिणाम र गठबन्धनलाई हेर्ने हो भने जनकपुरमा यस पटक थपिएका ११ हजार १७५ नयाँ मतदाताले एमालेकै पक्षमा मतदान गर्दा पनि एमालेको जित निश्चित छैन ।
जीतपुरसिमरा उपमहानगरपालिका
यसअघि नेकपा एमालले जित हातपारेको जीतपुरसिमरामा यस पटक सत्ता गठबन्धनको तर्फबाट माओवादीले जित हात पार्ने देखिएको छ । नेकपा एमाले, कांग्रेस र माओवादीको बराबरै जसो प्रभाव रहेको यस क्षेत्रमा यस पटक भने गठबन्धन बलियो देखिएको छ ।
२०७४ मा मेयर पदमा जित हातपारेको एमालले यस पटक गठबन्धनसँग पराजित हुने निश्चित छ । तर, थपिएका १३ हजार ४०४ मतदाताले चुनावी परिणम बदल्न पनि सक्छन् ।
कलैया उपमहानगरपालिका
२०७४ मा एमाले र तत्कालीन संघीय समाजवादी पार्टीसँग विजयी भएको नेपाली कांग्रेसले यस पटक पनि गठबन्धनको तर्फबाट मेयरमा दाबी गर्दै छ ।
पछिल्लो निर्वाचनमा १० हजार ९०३ मत ल्याएर विजयी भएको नेपाली कांग्रेसलाई १० हजार ७१६ मतका साथ एमालेले पछ्याएको थियो भने संघीय समाजवादीले ९ हजार ४०४ मत ल्याएको थियो ।
यो आँकडालाई हेर्दा प्रतिस्पर्धा रोचक देखिन्छ तर, गठबन्धनका कारण एमाले कमजोर बनेको छ । १३ अजार ८६६ नयाँ मतदाताले यस पटकको कलैयाको निर्वाचनमा निर्णायक भूमिका निर्वाह गर्नेछन् ।
बागमती प्रदेश
हेटौंडा उपमहानगरपालिका
एमाले र नेपाली कांग्रेसबीचको जुँगाको लडाइँ यस पटक पनि हेटौंडामा देखिनेछ । २०७४ को निर्वाचनमा जम्मा ६ सय १५ मतको अन्तरले पराजित भएको कांग्रेस यस पटक हेटौंडामा आफ्नो अस्तित्व जोगाउने कसरतमा छ ।
यसअघिको निर्वाचनमा माओवादीको सहयोग पाएको कांग्रेसले यस पटक पनि गठबन्धनको तर्फबाट मेयरमा दाबी पेस गरेको छ । राप्रपासँगको तालमेलका कारण एमालेलाई भने केही सहज देखिएको छ ।
थपिएका २० हजार ८३४ नयाँ मतदाताहरूले कसको पक्षमा मतदान गर्छन् वैशाख ३० ले बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया