काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ ।
निर्देशिकामा विभिन्न प्रकारका सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
‘जिल्ला निर्वाचन सुरक्षा समितिले मतदानको दिन मतदान केन्द्रमा रहेको सुरक्षा टोलीलाई आवश्यकताअनुसार थप मदत पुर्याउनको लागि कानुनबमोजिम सबै किसिमको बल प्रयोग गर्न पाउने गरी सुरक्षाकर्मीसहितको घुम्ती टोलीको व्यवस्था गर्नेछ’, निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकामा भनिएको छ ।
घुम्ती टोलीले कुनै मतदान केन्द्रमा शान्ति सुरक्षासम्बन्धी समस्या परेको जानकारी पाएमा तत्काल घटनास्थलमा पुगी शान्ति सुव्यवस्था कायम गर्ने कार्य गर्नेछ ।
घुम्ती टोलीले होहल्ला, हुलदङ्गा वा अरु कुनै अवाञ्छित कार्य गरी निर्वाचन कार्यलाई प्रतिकूल असर पार्न खोज्ने व्यक्ति वा समूहलाई सम्झाइबुझाइ गर्ने कार्य समेत गर्नेछ ।
‘यसरी सम्झाइबुझाइ गर्दा समेत त्यस्तो होहल्ला, हुलदङ्गा वा अवाञ्छित कार्यमा नियन्त्रण हुन नसकी निर्वाचनको कार्यमा प्रतिकूल असर पर्ने देखिएमा त्यस्तो घुम्ती टोलीले प्रचलित कानुनबमोजिम आवश्यक बल प्रयोग गर्न सक्नेछ’, निर्देशिकामा भनिएको छ ।
निर्देशिकामा निर्वाचन सुरक्षाको लागि स्ट्राइकिङ टोली समेत तयारी अवस्थामा राख्नुपर्ने जनाइएको छ । घुम्ती टोलीबाट सुरक्षासम्बन्धी समस्या समाधान हुन नसकेको अवस्थामा स्थितिलाई नियन्त्रणमा लिनका लागि साधन स्रोत र अधिकारसम्पन्न सशस्त्र प्रहरी बल, नेपालसहितको स्ट्राइकिङ टोली तयारी अवस्थामा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
‘जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको सुरक्षा वस्तुस्थितिको समीक्षा गरी आवश्यकताअनुसार विभिन्न किसिमका बम विष्फोटनसम्बन्धी खतरालाई प्रतिकार गर्नसक्ने नेपाली सेनाको बम डिस्पोजल टोली खटाउनेछ’, निर्देशिकामा भनिएको छ ।
निर्वाचन सुरक्षाको लागि रिजर्भ सुरक्षा फौज पनि रहनेछ । निर्देशिकामा स्पष्ट शब्दमा लेखिएको छ, ‘जिल्ला निर्वाचन सुरक्षा समितिले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाको विभिन्न स्थानमा आवश्यकताअनुसार रिजर्भ सुरक्षा फौज रहने व्यवस्था मिलाउनेछ ।’
आवश्यक परेको स्थानमा हवाई सुरक्षा गस्ती पनि प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । ‘आयोगले गृह मन्त्रालयको समन्वयमा मतदानको दिन शान्ति सुरक्षाको स्थितिको निरन्तर निगरानी गर्न सुरक्षा टोलीसहितको हवाई गस्तीको व्यवस्था गर्न सक्नेछ । यस्तो गस्तीले समस्याग्रस्त ठाउँमा तत्काल सुरक्षा टोली ओराली शान्ति सुव्यवस्था कायम राख्ने कार्य गर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया