काठमाडौं । आज हिन्दुहरुको महान चाड महाशिवरात्रि । देशभरका विभिन्न मठमन्दिरमा आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदै छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्वका रुपमा लिइन्छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाआराधना गर्छन् ।
शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण तथा ग्रन्थमा वर्णन गरिएको छ ।

यस दिन रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन रहेको छ । कोही भने यसदिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाइ गरी शिवलिंगमा बेलपत्र, जल, दुध अपर्ण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ ।
यसैबीच हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल मानिने पशुपतिनाथमा यस पर्वको छुट्टै उल्लास हुने गर्दछ । छिमेकी राष्ट्र भारतबाट हजारौँको सङ्ख्यामा तीर्थालुहरु भित्रिन्छन् । योगी, सन्त, बाबाहरुको घुइँचो लाग्छ । देशविदेशबाट तीर्थालु तथा पर्यटकहरु दर्शनका लागि आउने गर्दछन् । पशुपति परिसर कुनै रमणीय मेलाजस्तै झलमल्ल सजिएको हुन्छ ।

महाशिवरात्रिको पूजाविधि :
बिहान सबेरै उठ्नुहोस् र नुहाउनुहोस् । यसपछि माटोको भाँडोमा पानी वा दूध भर्नुहोस् र यसमा बेलपत्र राख्नुहोस् । धतुरो र फूलहरू राख्नुहोस् । चामल आदि थप्नुहोस् । यदि तपाईं शिवमन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा माटोको शिवलिंग बनाएर पूजा गर्न सक्नुहुन्छ। शिव पुराण पढ्नुहोस् र महामृत्युञ्जय मन्त्र वा शिवको पञ्चक्ष मन्त्र, ऊँ नमः शिवाय जप गर्नुहोस् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व :
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णन गरिएको छ । विशेषगरी शिवरात्रि भगवान शिवको प्रमुख पर्व हो । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरू शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मंन्त्र जप्ने गरेमा पृथ्वीमा सबै कुराले सम्पन्न भई मरेपछि यमलोक जानु नपर्ने र मोक्ष प्राप्ती हुने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिनको रुममा मनाइन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनी शास्त्रमा लेखिएको छ ।
शिवरात्रिमा देशभरका शिवमन्दिरहरूमा भक्तजनहरूकाे घुइँचाे लाग्ने गर्छ । काठामाडौंमा पशुपति धाम, पूर्वको पशुपति खोटाङ जिल्लाको हलेसीलगायतका शिवमन्दिरमा भक्तजन जम्मा भई धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ ।
शिवरात्री व्रतकालमा भगवान् शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दुधले स्नान गराइन्छ ।
अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भव मूर्तिलाई महले स्नान गराइन्छ ।
गाँजाभाङ खाए प्रहरी खोरमा :

हरेक वर्षजस्तै यस वर्ष पनि पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषित गरिएको छ । मेलामा मासु, मदिरा र गाँजा निषेध गरिएको छ । ‘पशुपति क्षेत्र कानुनद्वारा नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्व समेतमा गाँजा-भाङ, जाँड-रक्सीजस्ता नशालु पदार्थहरुको बिक्रीवितरण, ओसारपसार, भण्डारण एवं प्रयोग वा सेवन नगर्न सबैलाई अनुरोध गरेको छ ।

महादेवका पाँच रहस्य :
१) आदिनाथ शिव
सबैभन्दा पहिला भगवान शिवले नै धर्तीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका थिए । त्यसैले उनलाई आदिदेव भन्ने गरिन्छ । आदिको अर्थ प्रारम्भ हुने गर्दछ । त्यसैले उनको एक नाम आदिश पनि छ ।
२) शिवका अस्त्र शस्त्र :
शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशुल हो । यो सबै उनले नै निर्माण गरेका थिए ।
३) शिवको नाग
शिवको घाँटीमा रहने नागको नाम वासुकी रहेको छ । वासुकीको दाजुको नाम शेषनाग हो ।
४) शिवकी अर्धाङ्गिनी
शिवकी पहिलो पत्नी देवी सतीले नै अघिल्लो जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । साथै उनलाई नै उमा, उर्मी, काली भनिएको हो ।
५) शिवका पुत्र
शिवका प्रमुख ६ पुत्र छन्, कार्तिकेय, गणेश, सुकेश, जालन्धर, अयप्पा र भूमा । सबैको जन्म कथा रोचक छ ।
शिवलिङ्गमा दुध किन चढाइन्छ ?
शिवलिङ्गमा विशेषत दूध, घिउ, मह, दही र जल विशेष रूपमा चढाउने चलन छ । यसरी शिवलिङ्गमा यी पदार्थ चढाउनुको धार्मिक कारण त छ नै केही वैज्ञानिक कारणहरू पनि रहेका छन् ।

पौराणिक कारण :
पौराणिक कथाअनुसार जब समुद्र मन्थन भएको थियो, त्यो बेला सबैभन्दा पहिला विष निस्कियो । यो विषले पृथ्वीवासीलाई नै खतरा हुने देखियो । यो कुरा थाहा पाएपछि सबै भगवान्, दैत्यहरू भगवान् शिव कहाँ गएर पृथ्वी लोकका मानिसहरूको रक्षा गरिदिन हार गुहार गर्न थाले ।
त्यो विषको असर र त्यसको रापलाई सहन सक्ने क्षमता केवल भगवान् शिवजीसँग मात्र थियो । भगवान् शिवजीले संसारको कल्याण गर्न उक्त विषलाई आफ्नो कण्ठमा धारण गर्नुभयो । विषको असर र राप यति धेरै थियो कि त्यसको कारण भागवान् शिवजी घाँटी निलो नीलकण्ठ भयो, शिवजीको शरीर रापले पोल्न थाल्यो ।
विषको धातक प्रभाव शिवजीमा पर्न थालेपछि भगवान् शिवको जटामा विराजमान भएकी देवी गङ्गालाई समेत पर्न थाल्यो । गङ्गाले जलमार्फत शिवजीको शरीरमा भएको तापलाई कम गर्न थालिन् ।
त्यसले पनि भगवान् शिवजीको शरीरमा विषको राप नष्ट नभएको कारण अरू भगवानहरुले शिवजीलाई दूध ग्रहण गर्न आग्रह गरे । सबैले भनेपछि शिवजीले दुध ग्रहण गरेर दुधकै अभिषेक लिए ।
त्यही बेलादेखि शिवलिङ्गमा दुध चढाउने परम्परा चलेको विश्वास रहेको छ । भनिन्छ दुध भगवान् शिवजीको प्रिय पदार्थ भएको र श्रावण महिनामा शिवलिङ्गमा दूधले स्नान गराएमा सबै किसिमको मनोकामना पूरा हुने विश्वास राखिन्छ ।
वैज्ञानिक कारण :
शिवलिङ्गको निर्माण विशेष किसिमको ढुङ्गाबाट हुने गर्छ । उक्त ढुङ्गालाई खिइनबाट रोक्न त्यसमा दूध, घिउ, महजस्तो चिल्लो पदार्थहरू चढाइन्छ । जसको कारण शिवलिङ्गको आकार खिइनबाट रोक्ने गर्छ ।
यदि शिवलिङ्गमा चिल्लो पदार्थ अर्पन नगर्ने हो भने समय क्रममा घामपानीको प्रभावले शिवलिङ्ग टुक्रिने सम्भावना हुन्छ । त्यसैले यसलाई सकभर भिजेको अवस्थामै राख्नु राम्रो हुन्छ । यसो गर्दा शिवलिङ्ग हजारौँ वर्षसम्म नटुक्रिएर सग्लो नै रहन्छ । यसरी अर्पण गरेको चिल्लो पदार्थलाई कतिपय शिवलिङ्गले सोस्ने समेत गर्छ ।
शिवलिङ्गमा उचित समयमा मात्र दुध, घिउ, मह, दही आदि अर्पण गरेर पूजा गर्ने चलन रहेको छ । कतिपय शिवलिंगमा सधैँजसो यी पदार्थ हालेर पूजा गर्न नमिल्ने किसिमको हुन्छ ।
यी पदार्थहरू चढाएर हातले रगड्न नहुने किसिमका पनि हुन्छन् । त्यसैले यस्ता किसिमका अभिषेकहरू मुख्यरूपमा श्रावण महिनामा मात्र गरेर वर्षको एक पटक मात्र गर्ने परम्परा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया