काठमाडौं । प्रेम अपनत्वको भाव हो । प्रेम शब्द आफैँमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ । नितान्त वैयक्तिक भाव भएकाले प्रेमलाइ शब्दमा बयान गर्न सजिलाे छैन ।
प्राय युवापुस्ताले आफ्नो प्रेमको भाव शब्दकै माध्यमबाट व्यक्त गर्नेगरेका छन् । जसरी बगैँचामा हावामा उडेका फूलहरुको सुगन्ध फैलिएको महसुस मात्रै गर्न सकिन्छ प्रेम त्यस्तै एउटा भाव हो । जसलाई महसुस मात्रै गर्न सकिन्छ ।
प्रेम एक भावना हो । प्रेम विभिन्न मानिस, उमेरसमूह र विभिन्न सम्बन्धको लागि फरक–फरक हुन सक्छ ।
प्रेमलाई जाति, लिंग, पेसा, भाषा, उमेर, सिमाना केहीले पनि छेक्न सक्दैन । भ्यालेन्टाइन भन्नेबित्तिकै नवयुवा–युवती जोडीहरूलाई मात्र ध्यान दिने गरिन्छ । तर, वास्तविकता त्यो होइन । वृद्ध–वृद्धा दम्पतीहरू पनि ‘भ्यालेन्टाइन डे’ उत्तिकै उत्साहपूर्ण तरिकाले मनाइरहेका देखिन्छन् ।
आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे (प्रणय दिवस) नेपालसहित विश्वभर मनाइँदै छ । पश्चिमा देशहरुमा विशेष रुपमा मनाइने यो दिवस पछिल्लो समय नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ ।
विशेषगरी यस दिन मन परेका व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ । इटलीका तत्कालीन तानाशाही शासक क्लाउडियसको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डेका बारेमा विभिन्न किंवदन्ती पाइन्छ । तीमध्ये केहीलाई हामीले समेट्ने कोसिस गरेका छौँ ।
कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?
मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो । यस्तै, प्राचीन रोममा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किंवदन्ती पनि छ।
यी यस्तै धेरै किंवदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवसको सुरुवात भएको हो । यीमध्ये सबैभन्दा प्रचलनमा रहेको किंवदन्ती भने रोमका पादरी सन्त भ्यालेन्टाइनसँग जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लोडियस तियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।
तर सम्राटको नियम मन नपराउनेमध्ये रोमका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।
जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएकाे कथन छ ।
उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।
भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया