कपाल रोप्न दुई लाखसम्म ऋण !

लोकपथ
0
Shares
PHOTO : https://irantreatments.com/

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो ।

अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो । अस्पतालभित्रै सो काउन्टर रहेको छ । कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिष्मा अर्यालले बताइन् ।

बैंकले रु २५ हजारदेखि दुई लाखसम्म यस्तो ऋण धितोबिना नै शून्य व्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ । अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ ।

उनले लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको जानकारी दिइन् । सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिने जनाइएको छ । चितवनमा पहिलो पटक यो सुविधा दिइएको जनाइएको छ ।

अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने, डण्डीफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्ने छ ।

अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट एण्ड हेयर ट्रान्सप्लान्ट सर्जन डा श्रद्धा उप्रेती पछिल्लो आधुनिक प्रविधिमार्फत कपाल प्रत्यारोपण गरिँदै आएको बताइन्।

लडेर, पोलेर वा दुर्घटनाबाट कुनै खत बसेको छ भने पनि त्यस्तो ठाउँमा कपाल रोप्न सकिने र आइब्रो पातला भएका महिलाले आइब्रोमा कपाल प्रत्यारोपण गर्न सक्ने उनको भनाइ छ ।

प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न सुरु हुने जनाइएको छ । उनको भनाइ छ, “पाँच महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्षभित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरे पनि फेरि पलाइरहन्छ ।”

अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले यो सुविधा किस्ताबन्दीमा सुरु गरेसँगै एकैपटकमा शुल्क तिर्न नसक्नेलाई सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?