आजदेखि सुरु हुँदै कांग्रेसको प्रदेश अधिवेशन, बागमतीको नेतृत्वमा कसले मार्ला बाजी ?

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबारदेखि सुरु हुने भएको छ । बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुने तय भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

उनका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ यस्तै शनिबार निर्वाचन हुने उनको भनाइ छ ।

कांग्रेसको प्रदेश अधिवेशन प्रदेश १ को विराटनगरमा हुनेछ । यस्तै २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

कांग्रेसको प्रदेश महाधिवेशनमा राजधानी प्रदेश समेत रहेको बागमतीमा कसको नेतृत्व होला भन्नेमा धेरैको चासो छ । बागमतीमा रामचन्द्र पौडेल पक्षबाट सभापतिमा जगदीश्वर नरसिंह केसी, देउवा पक्षबाट ईन्द्र बानिया र कृष्ण सिटौला पक्षबाट भीमसेनदास प्रधान उम्मेदवार रहेका छन् । यी तीन उम्मेदवारबीच कसले बाजी मार्ला भन्नेमा धेरैको चासो छ । पौडेल पक्षले बुधबार मात्रै बैठक बसेर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ उनी दुई पटक संविधान सभा सदस्य बनेका थिए भने नुवाकोटमा ४ पटक जिल्ला सभापति भएर २० वर्ष नेतृत्व गरेका थिए । यस वर्षमात्रै उनी नुवाकोट कांग्रेसको नेतृत्वबाट बाहिरिएका थिए ।

स्पष्ट वक्ता उनको देशभर राम्रो जनसम्पर्क रहेको छ । ०६२–६३ सालको जनआन्दोलनका चर्चित कमान्डर समेत रहेका केसी नेबिसंघको पूर्व केन्द्रीय सदस्य तथा सरस्वती क्याम्पसको स्ववियू सचिव समेत बनेका थिए । बागमती प्रदेशमा उनको पक्षमा राम्रो माहोल रहेको नेता कार्यकर्ताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?