फाइनान्स कम्पनीमा कर्जाको संकट : ६ कम्पनीको एनपीएल दोहोरो अंकमा, जानकीको ६१.५५ प्रतिशत

लोकपथ
0
Shares

काठमाडौं । फाइनान्स कम्पनीहरूका लागि अहिले नयाँ कर्जा विस्तारभन्दा पुरानो कर्जा उठाउनु ठूलो चुनौती बन्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणले सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बन्दै गएको देखाएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १६ मध्ये १४ वटा फाइनान्स कम्पनीको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ७.६६ प्रतिशत पुगेको छ ।

त्यसमध्ये ६ वटा कम्पनीको एनपीएल १० प्रतिशतभन्दा माथि पुगेको छ । अर्थात् केही फाइनान्स कम्पनीले प्रवाह गरेको प्रत्येक १०० रुपैयाँ कर्जामध्ये १० रुपैयाँभन्दा बढी हिस्सा निष्क्रिय कर्जामा परिणत भएको अवस्था छ ।

सबैभन्दा गम्भीर अवस्था जानकी फाइनान्सको देखिएको छ । कम्पनीको कुल कर्जाको ६१.५५ प्रतिशत निष्क्रिय कर्जामा परेको छ। यस्तो अनुपातले कम्पनीको कर्जा पोर्टफोलियोमा रहेको जोखिम असाधारण रूपमा उच्च रहेको देखाउँछ ।

जानकी फाइनान्समा तीनतिरबाट दबाब

जानकी फाइनान्सको चुनौती खराब कर्जामा मात्र सीमित छैन । कम्पनीको प्राथमिक पूँजी र कुल पूँजीकोष दुवै २५ करोड २७ लाख रुपैयाँभन्दा बढीले ऋणात्मक छन् ।

त्यस्तै, प्राथमिक तथा कुल पूँजी पर्याप्तता अनुपात ऋणात्मक ६.१४ प्रतिशतमा झरेको छ ।

६९ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको पूँजीकोष ऋणात्मक अवस्थामा पुग्नुले सञ्चित घाटाको असर पूँजी आधारमै परेको संकेत गर्छ ।

अर्कोतर्फ, कम्पनीको कर्जा–निक्षेप अनुपात ९८.५७ प्रतिशत पुगेको छ। यो राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा माथि हो ।

यसले जानकी फाइनान्समा कर्जा गुणस्तर, पूँजी पर्याप्तता र स्रोत व्यवस्थापन—तीनै मोर्चामा दबाब रहेको देखाउँछ ।

जानकीपछि पोखरा फाइनान्सको अवस्था पनि कमजोर

दोहोरो अंकमा एनपीएल पुगेका कम्पनीमध्ये पोखरा फाइनान्सको अवस्था पनि उल्लेख्य रूपमा कमजोर देखिएको छ । कम्पनीको निष्क्रिय कर्जा अनुपात २०.८४ प्रतिशत पुगेको छ ।

त्यस्तै नेपाल फाइनान्सको एनपीएल १३.८३ प्रतिशत छ । बेस्ट फाइनान्सको १३.६९ प्रतिशत र गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।

सेन्ट्रल फाइनान्सको एनपीएल पनि १०.४० प्रतिशत पुगेको छ ।

यसरी ६ वटा फाइनान्स कम्पनीको निष्क्रिय कर्जा अनुपात दोहोरो अंकमा पुगेको छ ।

अब चुनौती कर्जा बढाउने होइन, उठाउने

फाइनान्स कम्पनीहरूको एनपीएल बढ्दा त्यसको असर केवल कर्जा पोर्टफोलियोमा मात्र पर्दैन । निष्क्रिय कर्जाबाट ब्याज आम्दानी प्रभावित हुन्छ भने सम्भावित कर्जा नोक्सानी व्यवस्थापन गर्न कम्पनीहरूले थप रकम छुट्याउनुपर्ने हुन्छ ।

यसको असर कम्पनीको नाफा, प्रतिसेयर आम्दानी, नेटवर्थ तथा लाभांश वितरण क्षमतामा पर्न सक्छ ।

विशेषगरी दोहोरो अंकमा एनपीएल पुगेका संस्थाका लागि आगामी दिनमा कर्जा विस्तारभन्दा पुरानो कर्जा असुली र खराब सम्पत्तिको व्यवस्थापन मुख्य चुनौती बन्ने देखिन्छ ।

कमजोर पूँजी भएका कम्पनीलाई थप जोखिम

खराब कर्जा नियन्त्रणमा आउन नसके पूँजीकोषमा समेत थप दबाब पर्न सक्छ । पहिले नै पूँजी कमजोर रहेका कम्पनीमा थप कर्जा बिग्रिँदै गए नयाँ पूँजी जुटाउने आवश्यकता बढ्न सक्छ ।

त्यस्तो अवस्थामा व्यवसायको आकार घटाउने, पूँजी थप्ने वा मर्जर तथा प्राप्तिको विकल्प रोज्नुपर्ने दबाब पनि बढ्न सक्छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकले समग्र फाइनान्स क्षेत्रमा कर्जा गुणस्तर सुधारलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने संकेत गरेको छ । आगामी दिनमा यी कम्पनीको वित्तीय स्वास्थ्य कति सुधारिन्छ भन्ने कुरा नयाँ कर्जा विस्तारभन्दा पुरानो कर्जा कति प्रभावकारी रूपमा असुल हुन्छ र पूँजी आधार कति बलियो बन्छ भन्नेमा निर्भर रहने देखिन्छ ।

राष्ट्र बैंकको यो तथ्यांक हेर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?