काठमाडौं । विकास बैंकहरूको कर्जा विस्तार साढे ५ खर्ब रुपैयाँ नाघे पनि त्यसको गुणस्तरमा भने दबाब बढेको देखिएको छ ।
हाल नेपालमा सञ्चालनमा रहेका १६ विकास बैंकको औसत निष्क्रिय कर्जा (एनपीएल) अनुपात ५ प्रतिशतभन्दा माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार १६ विकास बैंकले कुल ५ खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोही अवधिमा यी बैंकको निक्षेप ६ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ पुगेको छ। तर, कुल कर्जामध्ये औसत ५.३७ प्रतिशत कर्जा निष्क्रिय अवस्थामा पुगेको छ ।
यसले विकास बैंकहरूमा कर्जा विस्तार भए पनि कर्जाको असुली र गुणस्तर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको संकेत गर्छ ।
सानो पोर्टफोलियो, उच्च जोखिम
एनपीएल अनुपातका आधारमा नारायणी विकास बैंक सबैभन्दा जोखिममा देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४८.५१ प्रतिशत पुगेको छ । यद्यपि बैंकको कुल कर्जा पोर्टफोलियो २८ करोड ६२ लाख रुपैयाँ मात्रै भएकाले अनुपात उच्च देखिनुमा सानो कर्जा आधारको प्रभाव पनि छ ।
त्यसपछि सिन्धु विकास बैंकको एनपीएल ७.६६ प्रतिशत र सप्तकोशी विकास बैंकको ७.६८ प्रतिशत छ । लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत तथा ज्योति विकास बैंकको ६.५५ प्रतिशत कर्जा निष्क्रिय अवस्थामा पुगेको छ ।
ठूला बैंक पनि दबाबमा
एनपीएलको समस्या साना विकास बैंकमा मात्रै सीमित छैन । ठूलो कर्जा पोर्टफोलियो भएका विकास बैंकमा पनि खराब कर्जाको अनुपात उल्लेख्य छ ।
मुक्तिनाथ विकास बैंकले १ खर्ब २ अर्ब ९१ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको एनपीएल अनुपात ४।७७ प्रतिशत छ। त्यस्तै, ८४ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ कर्जा रहेको गरिमा विकास बैंकको एनपीएल ४.७६ प्रतिशत छ ।
शाइन रेसुङ्गा विकास बैंकको एनपीएल ४.९३ प्रतिशत, महालक्ष्मी विकास बैंकको ६।३२ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ६।८७ प्रतिशत छ । कामना सेवा विकास बैंकमा भने निष्क्रिय कर्जा अनुपात ३.७७ प्रतिशत छ ।
यसको विपरीत सालपा विकास बैंकको एनपीएल ०.७९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको ०.२६ प्रतिशत मात्रै छ । मितेरीको कुल कर्जा भने ७ अर्ब २४ करोड ६ लाख रुपैयाँ छ ।
कर्जा–निक्षेप अनुपात ८४ प्रतिशत
विकास बैंकहरूको समग्र कर्जा–निक्षेप अनुपात ८४.१० प्रतिशत पुगेको छ ।
बैंकहरूले संकलन गरेको निक्षेपको तुलनामा कर्जा विस्तार उच्च रहे पनि अझै ठूलो हिस्सा निक्षेप कर्जाका रूपमा परिचालन हुन बाँकी रहेको देखिन्छ ।
यस अवधिमा विकास बैंकहरूको प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.७३ प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १४.५७ प्रतिशत रहेको छ ।
कर्णालीको अवस्था भने छुट्टै संकट
राष्ट्र बैंकबाट समस्याग्रस्त विकास बैंकका रूपमा राखिएको कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था भने अन्य विकास बैंकको तुलनामा निकै कमजोर देखिएको छ ।
बैंकको एनपीएल अनुपात ९७.४५ प्रतिशत पुगेको छ । त्यस्तै, प्राथमिक पुँजी पर्याप्तता अनुपात र कुल पुँजी पर्याप्तता अनुपात दुवै ऋणात्मक १४२.६३ प्रतिशतमा छन् ।
यसले समग्र विकास बैंकिङ क्षेत्रमा कर्जा विस्तार र कर्जाको गुणस्तरबीच बढ्दो अन्तर देखाए पनि सबै बैंकको अवस्था समान नरहेको स्पष्ट पार्छ । केही बैंकमा एनपीएल न्यून रहेको अवस्थामा केही बैंक भने खराब कर्जाको उच्च दबाबमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया