काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा आन्तरिक रुपमा उठाइने खर्च १० करोडभन्दा बढी हुने अनुमान पार्टीले गरेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय रुर्पैया लेबी तोक्ने निर्णय भएको जानकारी दिए ।
‘प्रतिसदस्य एक सय रुपैया तोकिएको छ । हुनेले बढी पनि देलान् । सांसद र पार्टीले राजनीतिक नियुक्ति गरेर पठाएका कार्यकताबाट पनि लेबी लिइएला । प्रवेश शुल्क पनि ५० लाख जति उठ्छ । महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने तोकिसकेका छौं । यति नै गर्दा पनि १० करोडभन्दा बढी उठ्छ’, पाण्डेले भने ।
एमालेको सदस्य संख्या सात लाख छ । यसअघि नवौं महाधिवेशनमा ६ करोड र त्यसअघि आठौंमा तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए । एमालेमा केन्द्रीय समिति संख्या २२५ छ । तीमध्ये १५ पदाधिकारी छन् । अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ ।
उनीहरू महाधिवेशनबाट निर्वाचित हुनेछन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि एक सयवटा विद्युतीय उपकरण राखिने भएको छ ।
उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ । सो अवसरमा देशभरबाट पाँच लाख हाराहारीमा नेता–कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ । बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ । महाधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया