छठको अवसरमा राष्ट्रपतिदेखि दलका नेतासम्मको शुभकामना

लोकपथ
42
Shares

छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो ।

पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

छठ पर्वका अवसरमा उनले आज दिएको शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । साथै उनले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

अध्यक्ष ‘प्रचण्ड’ले आज शुभकामना सन्देश दिँदै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि रहेको पनि अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल रहेको बताएका छन् । कोरोना त्रास कायमै रहेको भन्दै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन पनि प्रचण्डले सबैमा अपिल गरेका छन् ।

यसैगरी एमाले अध्यक्ष केपी ओलीलगायतले पनि छठको शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?