काठमाडौं । नेपालीहरुको मौलिक चाड तिहारले हामी सबैलाई छपक्कै छोपिसकेको छ । दाजुभाइसँग चेलीको भेटघाट, सेलरोटी अनरसा, फूलहरुको रौनकता साथै देउसी भैलो नेपालीहरुको मौलिक चाड तिहारको मुख्य विशेषता नै हुन् ।
सहर होस् या गाँउ तिहार भनेपछि रङ्गीचङ्गी र कानमा गुञ्जिरहने ‘देउसी भैलो’ले पनि मानिसहरुलाई थप उमङ्ग भर्ने काम गर्दछ । किंवदन्तीअनुसार हाम्रा हरेक चाडपर्वहरु परापूर्वकालमा देवी देवताहरुले कुनै न कुनै विजयी भएको अवसरमा मनाउन थालिएको भन्ने सुन्नमा आउने गरेको छ ।
त्यो पर्वसँग जोडिएर आउने परम्परा पनि पक्कै कुनै न कुनै राजा महाराजले खुशीयालीमा गरेको कामलाई गरेको निरन्तरताबाट थिति बस्न गएको हो । विशेष तिहारमा खेलिने देउसी भैली पनि त्यसैबाटको निरन्तरता भन्दा फरक नपर्ला । खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रंश भएर आएको मानिन्छ । अयोध्यावासीले आफ्ना राजाको आगमनमा खुशीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान् रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यही प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ । समूहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ ।
हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर–घरमा गएर गीत गाउँछन् । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसिरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठी खोलेर दान दिन्छन्, मीठामीठा परिकार दिन्छन्, छानामाथि घिरौँला के–के दिन्छन् हेरौँला भन्दै खुब फुर्काउँछन् । त्यसै क्रममा हामी त्यसै आएका हैनौँ, बलिराजाले पठाएको भन्ने गरिन्छ । सामूहिकताको भावनामा आधारित भएर खेलिने देउसीले पछिल्लो समय धेरै सामाजिक कामहरु पनि हुने गरेका छन् ।
रीतिरिवाजलाई जोगाउँदै एउटा उद्देश्यसहितको देउसीले धेरै सामाजिक कामहरु पनि हुनेगरेको छ । कतै एम्बुलेन्स किन्ने, कतै सडक निर्माण, कतै मन्दिर निर्माणजस्ता यावत राम्रा कुराहरु हामी प्रशस्तै मात्रामा सुन्दै आएका छौँ । साथै पछिल्लो समय परम्परा जोगाउने नाममा विकृतिहरु पनि भित्रिँदै आएका छन् । प्रविधिको व्यापक विकास भएसँगै देउसीमा पनि प्रविधिको धेरै प्रयोगले मौलिकता हराउँदै गएको पाइन्छ । हामीले मनाउने पर्वहरुमा पनि मौलिकता जोगाउन पहल गर्नुपर्ने देखिन थालेको छ ।
टीकाटाला, दाजुभाइ दिदीबहिनीको भेटघाट साथै रमाइलोको एक माध्ययम हो देउसीभैलो । तपाईँले पनि अघिल्ला वर्षहरुको तिहारमा देउसी भैलो पक्कै खेल्नुभएको होला र यस वर्ष पनि पक्कै खेल्नुहुन्छ होला । तर यसवर्ष पहिलेभन्दा समय फेरिएको छ । कोरोनाको कहरका कारण यस पटक धेरै समयसम्म र धेरै जनाको समूहमा भैली नखेल्न स्थानीय प्रशासनले अनुरोध गरेका छन् । देउसी भैलीका क्रममा विभिन्न स्थानमा पुगिन्छ । फरक–फरक मानिसहरुको सम्पर्कमा पुगिने भएकोले कोरोना संक्रमण सर्न सक्छ । त्यसो त धेरै मात्रामा आधुनिकताले छोएका कारण केही मात्रामा मौलिकता भने हराएको छ । साथै हामीले खेलिने देउसी भैलोले कतै अरुलाई असर पो गरिरहेको पो छ कि आफूले गरेको रमाइलोबाट अरुलाई असर परेको नपरेकोमा हामीले ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हामीले तिहारमा देउसी भैलो खेल्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
त्यसैले देउसी खेल्न जाँदा यस्ता कुरामा ध्यान दिने कि ?
⦁ पहिलो कुरो त यस पटक आफ्नो परिवारमा मात्रै भैली खेलेर मनाउनुहोस् ।
⦁ देउसी भैलोजस्ता मोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुँदा स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालन गर्ने
⦁ भुइँचम्पा, पटाका र आतशबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग गरी समाजमा नकारात्मक असर पर्ने खालका गतिविधि नगर्ने
⦁ समाजमा नकारात्मक असर पर्ने खालका गीत संगीत तथा श्रव्यदृश्य सामग्रीको उत्पादन र बिक्रीवितरण नगर्ने
⦁ कुनै व्यक्ति वा संस्थाबाट अनुचित दबाबमूलक माग नराख्ने
⦁ साथै सधैँ देउसी खेल्दा सभ्य भाषा, शिष्ट शैलीमा मनोरञ्जनात्मक साथै मौलिक गीतहरुलाई प्राथमिकता दिनुपर्दछ ।
शुभ तिहार ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया