काठमाडौं । सरकारले बाढी पहिरो र डुवानका कारण धानबालीमा क्षति व्यहोरेका किसानलाई राहत दिने निर्णय गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो ।
त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्ने सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म,त्यस्तै १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए ।
कात्तिक १ देखिको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो र डुवानका कारण देशका बिभिन्न जिल्लामा पाकेको धानबाली डुबेर खेतमै उम्रिएको थियो । यसअघि सरकारले धानबालीमा भएको क्षतिबारे अध्ययन गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया