मानवसेवा आश्रमद्वारा २ सडक बालबालिकाको उद्धार

लोकपथ
42
Shares

बागलुङ । मानवसेवा आश्रमले आइतबार २ जना सडक बालबालिकाको उद्धार गरेको छ ।

लामो समयदेखि बागलुङ जिल्लाको बजार क्षेत्रमा बसोबास गर्दै आइरहेका अन्दाजी ३ र ४ बर्षका बालबालिकाको उद्धार गरिएको मानवसेवा आश्रमको गण्डकी प्रदेश संयोजक सुमिरा लामाले जानकारी दिइन्।

जक्सन र प्रिया नाम गरेका यि दुई बालबालिकाहरु लाई यस अघि पनि मानवसेवा आश्रमले पटक पटक उद्धार गरेको थियो । तर उनीहरुलाई बाहिरी बातावरणमा रमाउने बानी लागेको हुनाले उनीहरु ल्याएको केही दिनमा नै पुनः सडकमा देखिने गरेका थिए ।

“उनीहरुलाई सुरुवातमा २०७६ सालमा उद्धार गरि आश्रममा ल्याइएको थियो । तर आश्रमको आफ्नै संरचना निर्माण गर्न नसकिएको र पहिले नै अन्य प्रयोजनको लागि बनेको घरमा बालमैत्री वातावरण नहुनुले गर्दा उनीहरु यहाँबाट पटक पटक भाग्ने गरेका थिए ।” लामाले भनिन् ।

त्यसको व्यवस्थापनका लागि मानवसेवा आश्रमले बागलुङको नियरेघाटमा बालमैत्री एवं अपाङ्गतामैत्री भवन निर्माण समेत गरिरहेको छ ।

उनीहरुलाई उद्धार गरि हाल मानवसेवा आश्रमको पोखरा शाखामा लगिएको छ । त्यहाँ आश्रमको संरचना बालबालिकाको लागि समेत उपयुक्त भएको र उनीहरुको भविष्य सुनिश्चितताको लागि पोखरामा शिक्षादीक्षाको व्यवस्था समेत गरिने लामाले जानकारी गराइन् । बागलुङ उनीहरुको लागि पुरानो ठाउँ भएकाले भाग्ने र पुनः सडकमा जाने गरेका थिए ।

उनीहरुलाई बागलुङ नगरपालिका, प्रहरी, प्रशासन र विभिन्न संघसंस्था तथा व्यक्तिहरुको प्रत्यक्ष सहभागीतामा उद्धार गरिएको हो ।

२०६९ सालमा सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकमानवहरुको व्यवस्थापन गर्ने उद्धेश्यले सुरुवात भएको मानवसेवा आश्रमको संरक्षणमा हाल १५० बढी बालबालिकाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?