प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायसँगै हिँड्नुपर्छ : गृहमन्त्री खाँण

लोकपथ
28
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने चुनौती रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे ।

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए । नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको उनले बताए ।

उनले भने– ‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरुले बेहोरेको भन्दा पनि पृथक प्राकृतिक विपतलाई हामीले सामना गर्नुपर्‍या छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी राष्ट्रमा मात्र हाेइन अरु राष्ट्रमा समेत पुग्ने भयो । अब हाम्रो हिमालको उचाइ घट्ने अनि समुद्रको सतह बढ्दाखेरी समुन्द्र किनारलाई पनि त्यसले गम्भीर प्रभाव पार्छ । खालि नेपालको मात्र सवाल भएन । त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिँड्नुपर्छ । यो धेरै ठूलो चुनौती हाम्रो काँधमा आएको छ ।’

गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए । सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले भने– ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरुलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडि बढ्नेछ । हामी सबै नेपालीहरुले पनि जुटेरै विपतबाट नेपालीहरुको नेपालको भूमिको पनि रक्षा गर्नेछौँ ।’

पानीबिनाको जीवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानीको रक्षा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?