काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश भित्र र बाहिर रहि–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका छन् । विजया दशमीको अवसरमा पूर्वराजा शाहले भिडियो सन्देश जारी गर्दै शान्ति र सुखको लागि शुभकामना व्यक्त गरेका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरुप हुन सकेन ।
‘कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महँगी र अस्थिरताको भूमरीमा फसेका आम नेपालीले सत्य सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त रु’ भन्दै उनले प्रश्न गरेका छन् ।
‘दुर्भाग्यवस्, शिक्षा तथा स्वास्थको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टीकरण प्रशासनिक र राजनीतिक पेसाले सीमित व्यक्तिलाई फाइदा पुर्याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भइ राष्ट्र सुरक्षा स्वार्थमा चुनौती थपिएकाले हाम्रो मन पोलेको छ ।’ उनले थपे
हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार हुने उल्लेख गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, ‘राजसंस्था वैचारिक आस्थाका आधारमा विभेद गर्दैन, त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा ।’ ‘देश भक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दबित भए पनि नामेट हुन सक्दैन । योग्य समयमा समुचित तरिकाबाट त्यो प्रष्फुटित हुने गर्दछ,’ सन्देशमा उनले भनेका छन्, ‘केही समय यता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकुल भई व्यक्त विचारहरुलाई हामीले राष्ट्र, राष्ट्रिय अनुराग र निष्ठामात्र प्रकट गरेको नभई आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चारसमेत गराएको रुपमा बुझेका छौं ।’ उनले भनेका छन् ।
हेर्नुहोस् भिडियो :
https://www.facebook.com/biyogi.saroj/posts/3006280019516728
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया