काँठ क्षेत्रमा हराउँदै गयो दशैँको रौनक

लोकपथ
140
Shares

काठमाडौँ । बडा दशैँको आकर्षणको रूपमा रहेको लिङ्गेपिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा देख्न समेत मुस्किल परेको छ ।

दशैँ आयो भन्नेबित्तिकै पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने प्रतिस्पर्धा नै हुने गथ्र्यो तर अहिलेका बालबालिकाले चाहेर पनि पिङ खेल्न पाएका छैनन् ।

दशैँको आगमनको सुरुवातसँगै खेलिने पिङ यस वर्ष नगन्य रूपमा मात्र केही स्थानमा मात्रै देख्न पाइन्छ । अघिल्लो केही वर्षदेखि नै दशैँमा लिङ्गेपिङले दिने रौनक हराउँदै गएको थियो । झनै कोरोना भाइरस कोभिड-१९ को जोखिम बढेका कारण यस वर्ष एकाध स्थानमा मात्रै पिङ देखिन्छ ।

विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको पुराना पुस्ताले बताउँछन् ।

एउटा जिल्लामा सयौँको सख्यामा देखिने यस्ता पिङहरू यस वर्ष काठमाडौंलगायत घना बस्ती भएका सहर क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाको डोरीको समेत अभाव भएकाले पिङको संख्या कम हुँदै गएको बुढापाका बताउँछन् ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल छ । उपत्यकामा बसोबास गर्नेहरूले जन्मघर, मामाघर या आफन्तको घर जाँदा यदाकदा बाटोमा पिङ देखिएको सुनाउँछन् तर उनीहरूले अनुभूति गर्न पाउँदैनन् ।

त्यसो त अचेलका बालबालिका मोबाइलमा उपलब्ध हुने विभिन्न किसीमका गेमहरूमा युवापुस्ताको रुचि बढेको बताउँछन् । अघिल्ला वर्षभन्दा यो वर्ष आकाशमा केही बढी चङ्गाहरूचाहिँ देखिएका छन् ।

नयाँ पुस्ता दशैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व घट्दै गएको बेला कोरोनाको कारण बढेको जोखिमका कारण पनि मानिसहरू सुरक्षित रूपमा नै दशैँ मनाउने सोचमा भएका कारण बालबालिकालाई घरैको छतबाट चङ्गा उडाउने अनुमति दिइरहेका छन् ।

अघिल्ला वर्षमा पिङजस्तै दशैँमा मासु, चिउरा खाएर कौसीमा बसेर परिवारसँग रमाउँदै आकाशमा चङ्गा उडाउने परम्परा पनि लोप हुँदै जान थालेको थियो । बाहिर जाँदा संक्रमणको जोखिम बढेका कारण पनि काँठ क्षेत्रमा यस पटक चङ्गा उडेको छ ।

पहिले–पहिले दशैँको आगमन झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुरबुर्जा तथा ओखर खेल्ने परम्परा थियो । अचेल यो परम्परा पनि करिब लोप भएको छ । यो दुईवटै खेललाई कानुनी रूपमा सरकारले अवैधानिक बनाएपछि परम्परा पनि करिब लोप भएको छ ।

पिङ खेल्ने, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दशैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । काँठ क्षेत्रमा दशैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दशैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै गएपछि काँठ क्षेत्रको को दशैँ एकादेशको कथा बन्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?