काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बनेको झण्डै ३ महिना पुग्न लाग्दा सरकारलाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनमा सहभागी दलहरूबीच भागवण्डा मिलेपछि मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
नेकपा माओवादीको भागमा परेका ५ वटा मन्त्री र १ जना राज्यमन्त्री छन् । माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्री बनिसकेका छन् ।
माओवादीबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमायाकुमारी यादवलाई राज्यमन्त्रीमा छनोट गरिएको छ । थपिएका तीन मन्त्री र राज्यमन्त्रीको विगत यस्तो छ ।
देवेन्द्र पौडेल
माओवादी केन्द्रको कोटाबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका देवेन्द्र पौडेल माओवादीका स्थायी कमिटी सदस्य हुन् । उनी २०२१ पुस २८ गते बागलुङको अमलाचौरमा जन्मिएका हुन् । राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका पौडेल पहिलो पटक मन्त्री बनेका हुन् ।
पौडेलको परिवारमा श्रीमती र एक छोरी छन् । राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन् । सुरुमा उनी अखिल छैटौँमा आबद्ध थिए ।

त्यसपछि उनी अखिल क्रान्तिकारीको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष र अध्यक्ष भएर काम गरे । २०६८ मा उनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकार थिए । त्यसअघि २०५२ मा माओवादीको सशस्त्र संघर्षमा सामेल भएका थिए ।
पौडेल २०५७ मा माओवादीको केन्द्रीय सदस्य, २०६२ मा पोलिटब्युरो सदस्य र २०७१ मा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य भएका थिए ।
उनी २०७४ मा बागलुङ क्षेत्र नंबर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी भएका पौडेल २०४२ देखि २०४४ सम्म १८ महिना धनगढी जेलमा परेका थिए । माओवादी जनयुद्धका समयमा उनी १० वर्ष भूमिगत भएका थिए ।
उनलाई माओवादीमा बाबुराम भट्टराई पक्षको नेता मानिएको थियो । तर, बाबुरामले माओवादी छोडेका बेला केही समय उनी बाबुरामसँंगै गएका थिए । पछि फेरि माओवादीमै फर्किए । पौडेल माओवादीभित्र इमान्दार नेताका रूपमा चिनिन्छन् ।
शशी श्रेष्ठ
माओवादीबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएकी शशी श्रेष्ठ माओवादी नेता लीलामणि पोखरेलकी जीवनसंगिनी हुन् ।
काभ्रेको मंगलटारमा जन्मिएकी श्रेष्ठ अहिले भने काठमाडौंकी बासिन्दा हुन् । उनी प्रतिनिधिसभामा माओवादीका तर्फबाट समानुपातिक सांसद हुन् । यसअघि उनी एक पटक स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी थिइन् । श्रेष्ठ मन्त्री हुनुअघि राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति थिइन् । उनी मन्त्री बनेसँगै उक्त समितिको सभापति पद खाली भएको छ ।

स्नातक तहसम्मको अध्ययन गरेकी श्रेष्ठले पनि २०३४ देखि विद्यार्थी राजनीतिबाटै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । उनले २०३६ मा नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन समूहबाट औपचारिक राजनीति सुरु गरेकी हुन् ।
श्रेष्ठले २०३७ मा कम्युनिस्ट पार्टीको पूर्णकालीन सदस्यता लिएकी थिइन् । २०३८ मा उनी पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् ।
त्यसपछि उनी २०४० मा नेपाल महिला संघको अध्यक्ष भएकी थिइन् । उनले राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताएकी छिन् । उनी २०५५ मा संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य, २०५९ मा जनमोर्चाको सचिवालय सदस्य र २०६५ मा माओवादी केन्द्रीय सदस्य भएकी थिइन् ।
श्रेष्ठ २०७१ मा माओवादीको पोलिटब्युरो र २०७२ मा सचिवालय सदस्य भएकी थिइन् ।
महेश्वर गहतराज
युवा तथा खेलकुल मन्त्री बनेका महेश्वर गहतराज २०७४ मा बाँके क्षेत्र नंबर १ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद हुन् । २०४५ मा अनेरास्ववियुमार्फत उनी राजनीतिमा होमिएका हुन् ।
२०४८ मा अखिल नेपाल युवक संघ रुकुमको जिल्ला समिति सदस्य रहेका गहतराज माओवादी जनयुद्ध सुरु भएसँगै २०५१ बाट माओवादीको राजनीतिमा सक्रिय भएका हुन् ।

२०२८ भदौ १२ गतेर रुकुममा जन्मिएका गहतराजले राजनीति गर्ने थलो भने बाँकेलाई बनाएका हुन् । २०५९ मा माओवादीको बाँके, बर्दिया इञ्चार्ज रहेका उनी २०६० मा माओवादीको केन्द्रीय सदस्य भएका थिए । उनी २०७३ मा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य बनेका थिए ।
माओवादी जनयुद्धको समयमा उनी रुकुमको जनसरकार उपप्रमुख क्षेत्रीय ब्युरो प्रमुख तथा रुकुम इन्चार्ज भएका थिए । उनले २०५८ मा माओवादीको जुम्ला, मुगु र हुम्ला इन्चार्जको भूमिका निर्वाह गरेका थिए ।
आईएसम्मको अध्ययन गरेका उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्
बोधकमायाकुमारी यादव
माओवादी केन्द्रको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी बोधकुमारी यादव माओवादी आन्दोलनका क्रममा ज्यान गुमाएका रामवृक्ष यादवकी छोरी हुन् । उनी २०३१ कात्तिक २८ गते धनुषामा जन्मिएकी हुन् । यादवले स्नातकसम्मको अध्ययन गरेकी छिन् ।

उनी २०४४ मा अखिल छैटौँको जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेकी हुन् । यादव २०५८ मा तत्कालीन नेकपा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् ।
यादव प्रतिनिधिसभामा माओवादीका तर्फबाट समानुपातिक सांसद हुन् । उनी २०६० मा माओवादीको धनुषा जिल्ला समिति सदस्य, २०६७ मा माओवादीको धनुषा जिल्ला सह–सेक्रेटरी र २०६८ मा माओवादीको केन्द्रीय सदस्य २०७०मा पोलिटब्युरो सदस्य बनेकी थिइन् । यादव पनि पहिलो पटक मन्त्री बनेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया