काठमाडौं । सरकारले चालू संसदको नवौँ अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
गत बुधबारबाट सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ । एमालेले संसदका कामकारबाही सञ्चालनमा अवरोध गरेपछि सरकारले नवौँ अधिवेशन अन्त्य गर्ने तयारी गरेको उच्च स्रोतले लोकपथलाई जानकारी दिएको छ ।
‘एमालेले प्रतिनिधि सभामा निरन्तर अवरोध गरेपछि सरकारले संसदको नवौँ अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।’ स्रोतले भन्यो, ‘एमाले गतिरोध अन्त्यका लागि सभामुखले बोलाएको बैठकमा नआउने र भाग्ने अनि अवरोध पनि गरिरहेको हुनाले सरकार संसद अधिवेशनलाई अगाडी नबढाउने मुडमा पुगेको हो ।’
सत्ता गठबन्धनमा सहभागी एक राजनीतिक दलका शीर्ष नेताका अनुसार मन्त्रिपरिषद् बैठक आजै बस्न सक्ने र अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने बताइएको छ ।
त्यसैगरी मन्त्रिपरिषद् विस्तारमा ढिलाई भइरहेको भन्दै आलोचना खेपिरहेको सरकारले एक दुई दिनमै राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को अध्यादेश ल्याउने तयारी गरेको स्रोतले बताएको छ । मन्त्रिपरिषद् विस्तार पनि केही दिनमै हुने स्रोतको दाबी छ । यद्यपी प्रतिनिधि सभा बैठक असोज ४ गतेसम्म स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया