पर्वत । पर्वतमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।
ज्यान गुमाउनेमा एकै परिवारका पाँच जना रहेका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उहाँका ६ वर्षीय छोरा गणेशको पनि ज्यान गएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज शुक्रवार बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उहाँका तीन वर्षीय छोरा प्रयुशको ज्यान गएको छ । पहिरोमा मायाकुमारीकी सासू ७० वर्षीया डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
साथै पर्वतकै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको ज्यान गएको छ । यस्तै पहिरोमा परेर एक जना बेपत्ता भएका छन् ।
यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त घटनाको खबरले आफू मर्माहत भएको बताउँदै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
आज शोक वक्तव्य जारी गरी उनले सङ्कटको यस घडीमा पहिरोमा परिवार गुमाएका तथा प्रभावित परिवारको तुरुन्त उद्धार, राहत, पुनःस्थापना एवं पहिराको जोखिममा परेको वरपरको बस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न तीनवटै तहका सरकार तथा सम्बद्ध अधिकारीहरूलाई अनुरोध गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया