काठमाडौं । कोरोना माहामारीका बाबजुत पनि बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ यतिबेला हलहरुमा चलिरहेको छ। दर्शकले निकै रुचाएका यो फिल्मलाई केही देशमा भने प्रतिबन्ध लागेको छ।
विशेषत मुस्लिम मुलुकहरुले अक्षयको उक्त फिल्मको एक दृश्यमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएका हुन्। साउदी अरब, कुवेत र कतारका फिल्म सेन्सर बोर्डले बेलबटमको प्रदर्शनमाथि रोक लगाएका हुन्।
सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छविलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको आरोप लगाउँदै फिल्म चल्न नदिएका हुन्।

उक्त फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ। यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ। फिल्म भारतको पहिलो गोप्य अपरेसनलाई लिएर बनेको छ।
फिल्ममा प्लेन अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ। त्यस बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्राउ गरेको थियो। त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए। तर फिल्ममा यो गोप्य अप्रेसनलाई भारतीय अधिकारीले पूरा गरेको देखाइएको छ।
यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको हुनसक्ने विश्लेषकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यी देशमा फिल्ममाथि प्रतिबन्ध लागेसँगै समग्रमा फिल्मको कमाइमा असर पर्ने अनुमान गरिएको छ। फिल्ममा अक्षयसहित लारा दत्ता, वाणी कपूर, हुमा कुरेशी र आदिल हुसेनलगायतको दमदार अभिनय रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया