काठमाडौं । बक्सअफिसमा चलचित्र ‘बा एक योद्धा’ ले ‘आचार्य’ लाई पछि पारेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार ‘बा: एक योद्धा’ले १० दिनमा १ करोड ९३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र ६५ हजार ५६० दर्शकले हेरेका छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बा : एक योद्धा’मा सन्तानका लागि बाबुआमाले गर्ने संघर्ष र त्यागको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दिव्यदेव पन्त, सुहाना थापा, झरना थापा, अनिल बुढाथोकीलगायत कलाकारको अभिनय छ ।
त्यस्तै, ‘आचार्य’ले १० दिनमा १ करोड ५६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यस अवधिमा चलचित्र ५४ हजार १०६ दर्शकले हेरेका छन् ।
निखिल उप्रेतीको निर्देशन रहेको ‘आचार्य’मा निखिल उप्रेती, पूर्णिका सिजापती, प्रमोद अग्रहरिलगायत कलाकारको अभिनय छ । चलचित्रमा भारतीय कलाकारहरू पनि छन् ।
‘जदौ’ले १० दिनमा १३ लाख ९८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्र ३ हजार ८६७ दर्शकले हेरेका छन् । अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकार छन् ।
यसैबीच, दयाहाङ राई मुख्य भूमिकामा रहेको ‘पेन्सन पट्टा’ बक्सअफिसमा सफल देखिएको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले ९ करोड १३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । माहोत्से गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा छन् ।
त्यस्तै, ‘एलिफेन्टस् इन द फग’ले १ करोड २७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ। अविनाश विक्रम शाहको निर्देशन रहेको यो चलचित्रमा पुष्पा थिङ मुख्य भूमिकामा छिन् । चलचित्र ओस्कार अवार्डका लागि सिफारिससमेत भइसकेको छ ।
‘झिंगे दाउ’ले १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ज्ञानेन्द्र देउजाको निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, आँचल शर्मा र कुशल विष्ट मुख्य भूमिकामा छन् ।
‘बेहुली’ले २ करोड ९९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सशान कँडेलको निर्देशन रहेको चलचित्रमा पारश बम ठकुरी र दिव्या रायमाझी मुख्य भूमिकामा छन् ।
त्यस्तै, ‘पार्वती’ले २ करोड २९ लाख रुपैयाँ कलेक्सन गरेको छ । नीता ढुंगानाको निर्देशन रहेको यो चलचित्रमा नीता ढुंगाना र अशोक दर्जी मुख्य भूमिकामा छन् ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ले भने २६ करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्सन गरेको छ । कपिल रिजालको निर्देशन रहेको यो चलचित्रले २६ करोड १ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । यो चलचित्र नेपाली चलचित्र उद्योगमा दोस्रो धेरै कमाउने चलचित्र बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया