काठमाडौं । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मङ्गलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सार्वजनिक गरिएको छ ।
यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित भएको हो ।
पुस्तकको विमोचन प्रमुख अतिथि त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनका सहसंस्थापक तथा अध्यक्ष डा। जया लुईंटेल र कार्यकारी सदस्य निर्मला ज्ञवाली, विमोचन सम्पादक तथा मेन्टर डा. हरिकला अधिकारी तथा लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी र सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्की र फेलो लेखकहरुले संयुक्त रुपमा गरेका हुन् ।
पुस्तकमा नेपालका महिला र महिला भित्रका विविध महिलाहरुको अनुभव, भोगाइ र संघर्ष तथा राजनीतिक–सामाजिक आन्दोलनहरुमा गरेको योगदानहरु समेटिएका छन् ।
पुस्तकमा २५ जना फेलो लेखकहरुका आलेखहरु समावेश छन् । ती आलेखका विषय शीर्षकहरुमा महिला भित्रका विविधताका साथै दलित एवं आदिवासी जनजाति समुदाय भित्रका अपाङ्गता भएका महिलाहरुले भोगिरहेको बहुतहको विभेदको अवस्था तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालहरु समावेश छन् ।
पुस्तकको समीक्षा गर्दै त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले नेपालको महिला आन्दोलनका लागि यस पुस्तकको महत्तव रहेको भन्दै नेपाली समाजभित्रका वैकल्पिक विषयहरु पहिचान र उठान गरेको बताए ।
केही आलेखहरु एकदमै सशक्त रहेको भन्दै डा. अर्यालले यो पुस्तक नेपाली महिला आन्दोलन तथा समाज अध्येताहरुका लागि सन्दर्भ सामग्री हुने बताए ।
त्यसैगरी अर्का समीक्षक समाजशास्त्री डा. मीना पौडेलले एउटै वर्ग र उस्तैउस्तै इतिहास लेखन भइरहेको सन्दर्भमा यो पुस्तक इतिहास लेखनको वैकल्पिक यात्रा भएको बताइन् ।

परम्परागत अनुसन्धान विधिले टाउको गनेर तथ्याङ्क निकाल्ने अनुसन्धान भन्दा महिलावादी अनुसन्धान विधि फरक रहेको भन्दै यस विधिमार्फत सामाजिक न्यायको लेखन यस पुस्तकमा समेटिएको बताउनुभयो । उहाँले सन्धान फेलोहरूले गरेको अनुसन्धान प्राज्ञिक उद्देश्यले वा प्राज्ञहरुले गरेको होइन तर, प्राज्ञिक ज्ञान निर्माणका लागि महत्त्वपूर्ण आधार हुने पनि बताइन् ।
कार्यक्रममा पुस्तान्तरण, विविधता र समावेशिताको दृष्टिकोणबाट पुस्तकको महत्वु बारेमा युवा अधिवक्ता तथा अभियन्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पनि पुस्तकले विविधताका सवाललाई समेटेको बताए ।
कार्यक्रमको प्रमुख अतिथि त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकालले पुस्तकमा उल्लेखित विषयहरुबाट अरु धेरै विषयहरु खोतलिएको भन्दै समाजमा बाहिर नल्याइएका विषयको पहिचान पुस्तकमा रहेको बताउनुभयो । साथै उहाँले महिलाका वास्तविक अनुभव र भोगाइहरुलाई समेटेर सैद्धान्तीरकरण गर्न सकिने आधार पनि यो पुस्तक हुन सक्ने बताए ।
कार्यक्रमका अतिथि वक्ता सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठाछापको प्रयोग गर्नुको अर्थ महत्वपूर्ण रहेको भन्दै यसले हरेक व्यक्तिको आफ्नै पहिचान हुन्छ भन्ने सन्देश सबैमा पुर्याउने बताए । उनले हाम्रो औँठाछापको चिन्ह कसैको पनि एक अर्कासँग नमिल्ने वा आफ्नै पहिचानको हुने भएकाले यो पुस्तकले पनि हरेक महिलाको आफ्नै पहिचान हुनुपर्छ भन्ने आशय रहेको बताए ।
द स्टोरी किचेनका अध्यक्ष डा. जया लुईंटेलले सन्धानले इतिहास पत्रकारिता लेखनको काम सुरु गरेको भन्दै अहिले इतिहासको खोजी गर्न आँखीझ्याल खोल्ने काम सुरु भएको बताइन् ।
नेपाली महिलाहरु अथवा हाम्रा आमा, हजुरआमाहरुको जीवनभोगाइ, सङ्घर्ष र अनुभवबाट आएका ज्ञानहरुलाई पनि प्राज्ञिक ज्ञान बनाइनुपर्छ भनेर विश्वविद्यालयहरुसँग सहकार्य गरिरहेको बताइन् ।
द स्टोरी किचेनले Her-story लेखनको काम गरिरहेको भन्दै यो कामले इतिहासबाट पुरुषलाई हटाउने नभई महिलाहरुको योगदान, संघर्ष र भोगाइहरुलाई केन्द्रमा राख्ने काम गरिरहेको बताइन् ।
द स्टोरी किचेनका कार्यकारी सदस्य निर्मला ज्ञवालीले फेलोसिपको सुरुवातदेखि पुस्तक विमोचनसम्म साथ दिने सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा पनि हरस्टोरी लेखनमा सबैको साथसहयोग पाइरहने विश्वास व्यक्त गर्दै द स्टोरी किचेनले पनि यसप्रकारको कार्यमा विश्वविद्यालयका विभिन्न विभाग तथा अन्य संघसंस्थासँग सहकार्य गरिरहने बताइन् ।
त्यस्तै सन्धान फेलोसिप तथा पुस्तक प्रकाशनमा सहकार्य गरिरहेको त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागका प्रमुख जमुना शिवाकोटीले विभागले विगत ७–८ वर्षदेखि नै यसप्रकारको काममा सहकार्य गर्दै आएको भन्दै आगामी दिनहरुमा पनि सहकार्य भइरहने बताइन् ।
द स्टोरी किचेनका कार्यक्रम तथा कार्यालय प्रमुख गार्डिका बज्राचार्यले नेपाली महिलाको वास्तविक भोगाइ र सामाजिक राजनीतिक परिवर्तनमा महिलाको योगदान र भूमिका जतिसुकै सशक्त भए पनि इतिहासको औपचारिक दस्तावेजमा सहायकको रुपमा आकलझुकल मात्रै पाइएको भन्दै ती अनदेखा गरिएका भोगाइ, सङ्घर्ष र ज्ञानलाई अभिलेख गरी पुस्तक सार्वजनिक गरिएको बताइन् ।
उनले भनिन्, ‘यो केवल एउटा पुस्तक सार्वजनिक कार्यक्रम मात्र नभएर, नेपालका विविध महिला आन्दोलन, तिनका संघर्ष, नेतृत्व, योगदान, अनुभव र ज्ञानलाई सहखोजी र सहलेखन मार्फत दस्तावेजीकरण गर्न सफल भएको एक सामूहिक प्रयासको उत्सव मनाइएको हो ।’
‘सन्धान’ द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो । द स्टोरी किचेनले सन् २०२२ देखि हरेक वर्ष पत्रकार, लेखक तथा विश्वविद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुका लागि ‘सन्धान फेलोसिप’ प्रदान गर्दै आएको छ । फेलोसिप अन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकहरुले लेखेको आलेखहरुको सङ्ग्र ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह शृङ्खला १’ सन् २०२४ मा प्रकाशित भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया