श्वेत पत्रको तथ्य एकातिर निष्कर्ष अर्काेतिर: विष्णु पौडेल

लोकपथ
70
Shares

काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले जारी गरेको श्वेतपत्रमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको दाबी गरेका छन् ।

बिहीवार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले श्वेतपत्र अघिल्लो सरकारको आलोचनाको रुपमा आएकोले यसमा तथ्य एकातिर र निस्कर्ष अर्कोतिर भएको बताएका हुन् ।

पौडेलले अघिल्लो सरकारको अवधि स्वभावैले आर्थिक प्रगतिको दृष्टिकोणले, विकास निर्माणको दृष्टिकोणले र समृद्धिको दृष्टिकोणले महत्वपूर्ण अवधि भएको दाबी गरे ।

उनले आर्थिक वर्ष २०७६/०७७ को समय विश्व अर्थतन्त्र साढे तीन प्रतिशतले ऋणात्मक हुँदा नेपाली अर्थतन्त्र २ प्रतिशतले मात्रै ऋणात्मक हुनु सुखद पक्ष रहेको बताए ।

पूर्वअर्थमन्त्री पौडेलले कोरोना अवधिको तथ्यांकको सहारा लिएर २०७५/०७६ को आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यलाई छोप्न खोजेको पनि बताए ।

पौडेलले अघिल्लो सरकारले जिम्मेवारी लिएदेखि जिम्मेवारी छोड्ने समयसम्म नेपालको अर्थतन्त्रमा निरन्तर सकारात्मक सुधार रहेको बताएका थिए ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको स्मरण गराउँदै त्यो भन्दा राम्रो बजेट ल्याएर देखाउन चुनौती समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?