नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको बैठकमा महाधिवेशन हुन नसकेको अवस्थामा कांग्रेसको बैधानिकताका के हुने भन्ने लगायतका विषयमा छलफल भएको छ ।
पौडेलले पार्टी अप्ठ्यारोमा पर्न लाग्दा जिल्ला सभापतिहरुको भेलाको अस्त्र प्रयोग गर्ने गरेका छन् । भेलामा ३५ जना जिल्ला सभापतिहरु भौतिक रुपमा र १२ जना भर्चुअल रुपमा उपस्थित थिए । कांग्रेसको १४ औं महाधिवेशन टर्ने सम्भावना बढेपछि पौडेल पक्षका जिल्ला सभापतिहरुले आज र भोली गरेर दुइदिने भेला गरेका हुन् ।
काठमाडौमा भएको जिल्ला सभापतिहरुको भेलामा १४ औं महाधिवेशन र प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसेकेको विषयमा छलफल भएको थियो ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म तोकिएको थियो । बेलैमा तयारी नगर्दा अब लगभग महाधिवेशन नहुने भएको छ । महाधिवेशनका लागि साउन १२ बाट वडा तहको अधिवेशन गर्ने भनिए पनि त्यो स्थगित भएको छ । नयाँ कार्यतालिका अझै ल्याइएको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री देउवा पक्ष महाधिवेशन सार्न लचिलो छ भने पौडेल पक्ष सार्नु हुँदैन भन्ने पक्षमा छ । भदौमा महाधिवेशन नभए कांग्रेसको अहिलेको केन्द्रीय कार्यसमितिको बैधानिकता गुम्ने छ ।
प्रत्येक ४ वर्षमा हुनुपर्ने कांग्रेस महाधिवेशन २०७२ फागुन पछि भएको छैन । २०७२ मा १३ औं महाधिवेशनले देउवालाई सभापतिमा निर्वाचित गरेको थियो । त्यसकारण २०७६ मा नै हुनुपर्ने महाधिवेशन कोरोना, लगायतका कारण देखाएर भदौमा पुरयाइएको थियो । तर अब भदौमा महाधिवेशन नहुने देखिएको हो । देउवा ३ देखि ६ महिनासम्म महाधिवेशन पर सार्ने गृहकार्यमा लागेको देउवा पक्षका एक नेताले लोकपथलाई जानकारी दिए ।

आज के भयो ?
नुवाकोटका कांग्रेस सभापति जगदिश्वर नरसिंह केसीले आज जिल्ला सभापतिहरुको भेला नभएर आन्तरिक बैठक भएको बताए । बैठकमा खासगरी क्रियाशील सदस्यता बिवाद विधिसममत ढंगले टुंग्याउन, नियमित महाधिवेशन भदौमा संभव नभए पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन गर्न जिल्ला सभापतिहरुले सुझाव दिएका लोकपथलाई बताए ।
विशेष महाधिवेशन १३ औं महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिबाटै गर्न सकिने उनको भनाई छ । आजको बैठकमा २४ जिल्लाका सभापतिहरुले धारणा राखेका थिए । बाँकीले भोली बोल्ने केसीले जानकारी दिए । केसीले भने,‘हामीले वैधानिकता जोगाएर कसरी कांग्रेसलाई अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरेका छौं,भोली हामी एउटा टुगोंमा पुग्छौं ।’
कांग्रेसका सिन्धुली सभापति उज्ज्वल बरालका अनुसार आजको बैठकमा जिल्ला सभापतिहरुले अन्योलमा रहेको महाधिवेशनको सुनिश्चितता,महाधिवेशन नभएको खण्डमा कांग्रेसको वैधानिकता र कसरी अघि बढ्ने भन्ने विषयमा कुरा उठाएका थिए ।
बरालले भने,‘भदौमा वडा अधिवेशन शुरु गरेर महाधिवेशन भने पछि सार्ने भन्ने विषयमा कसैको सहमति नरहेको, भदौमा वडा अधिवेशन शुरु गरे महाधिवेशन पनि तत्कालै हुनुपर्छ भन्ने पक्षमा सबैको धारणा एक छ । यदि वैधानिकता पुष्टि हुन्छ भने केही महिना महाधिवेशन सार्दा आपक्ति नहुने कुरा जिल्ला सभापतिहरुले राखे ।’
कांग्रेसको आसन्न १४ औं महाधिवेशनको मिति सर्ने अवस्था भएपछि समयमै महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै सभापति देउवाविरुद्ध वरिष्ठ नेता पौडेल पक्ष आक्रोशित बनेको छ भने देउवाले प्रधानमन्त्री बनेको झण्डै एकमहिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्तारमा छलफल नगरेकोप्रति पनि पौडेल समूहको असन्तुष्टि छ ।

किन उठ्यो वैधानिकताको प्रश्न ?
कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन तेस्रो साता काठमाडौंमा सम्पन्न भएको थियो । कांग्रेसको विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्ने भन्ने छ । यस हिसावले कांग्रेसको १४ औं महाधिवेशन २०७६ फागुनमा सम्पन्न भैसक्नु पर्ने थियो । तर त्यतिबेला महाधिवेशन हुन सकेन । त्यसपछि कांग्रेसले राजनीतिक दल सम्बन्धि प्रावधान रहेको संविधानको धारा २६९ को उपधारा ४ को (ख) मा भएको व्यवस्था अनुसार एक वर्ष पछि सार्यो ।
२०७७ फागुनमा महाधिवेशन गर्ने तय भयो । तर गत फागुनमा पनि कोरोना लगायतका कारण देखाएर महाधिवेशन हुन सकेन । त्यसपछि पुनःसंविधानकै प्रावधानलाई टेकेर ६ महिना पछि अर्थात २०७८ भदौमा महाधिवेशन गर्ने तय गरियो । तर अब आगामी भदौमा पनि महाधिवेशन हुन नसक्ने स्थिति देखिएको छ । संविधानको धारा २६९ को उपधारा ४ को (ख) मा राजनीतिक दलको विधानमा कम्तिमा पाँच वर्षमा एक पटक सो दलको संघीय र प्रदेश तहको प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ ।
तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्ष भित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा कम्तिमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न वाधा पर्ने छैन भनेर उल्लेख गरिएको छ । थपिएको ६ महिनाको म्याद कांग्रेसले भदौ १९ मा गुजार्ने छ । त्यसैकारण पौडेल पक्षले कांग्रेसको बैधानिकताको प्रश्न उठाएको हो ।
संविधान अनुसार कांग्रेसलाई आउँदो भदौमा जसरी पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता देखिएको हो । तर देउवा पक्षका नेताहरुले भने कोरोनाका कारण भएको लकडाउनलाई सर्वाेच्च अदालतले सुन्य समय मानेकाले महाधिवेशन ३ देखि ६ महिना पर सार्न सकिने बताउँदै आएका छन् ।
सर्वाेच्चले कर तिर्नका लागि यस्तो फैसला गरेपनि राजनीतिक दलका बारेमा भने यस्तो सुविधा उल्लेख गरेको छैन ।
आन्तरिक लोकतन्त्र नै कमजोर
२००३ मा कांग्रेस पार्टीको स्थापना भएको हो । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसभित्र पछिल्लो समय आन्तरिक लोकतन्त्र भने कमजोर बनेको छ । आन्तरिक लोकतन्त्र कमजोर हुँदा त्यसले कांग्रेसलाई फाइदा नहुने कांग्रेसका नेता बिपिन कोइरालाले लोकपथलाई बताए ।
कांग्रेसको १४ महाधिवेशन कार्यतालिका पटक – पटक फेरबदल भइसकेको छ । अब भदौमा पनि महाधिवेशन हुने स्थिति छैन ।
महाधिवेशन सार्ने कारण
सभापति देउवा पक्षले कोरोना महामारी,बाढी पहिरो क्रियाशील सदस्यता विवाद जस्ता कारणलाई देखाएर महाधिवेशन सार्न लागेको हो । यसअघि पनि यस्तै बहाना बनाइएको थियो । कांग्रेस नेता धनराज गुरुङ नेतृत्वमा इच्छा शक्ति भए स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन गर्न सकिने बताउँछन् ।
तर सभापति देउवा त्यसो गर्ने पक्षमा छैनन् । भदौमा महाधिवेशन नभए निर्वाचन आयोगलाई कांग्रेसले ५० हजार जरिवाना तिर्नुपर्नेछ । निर्धारित समयमा महाधिवेशन नगरे आयोगले ५० हजार जरिवाना तिराउन सक्छ ।
महाधिवेशन सार्न खोज्नु र नखोज्नुबीच यस्तो छ कारण
देउवा भर्खरै प्रधानमन्त्री बनेका र उनले सरकार र पार्टी दुबैमा ध्यान दिनुपर्ने स्थिति छ । अहिले देउवाले पार्टीमा ध्यान दिन सकेका छैनन् किनकि यो गठबन्धन सरकार भएकाले उनले गठबन्धनमा सहभागी दलहरु सबैको चित्त बुझाउनुपर्ने अवस्था छ । र सरकारले पनि अहिले जनताका लागि खासै राम्रा कार्यक्रमहरु पनि ल्याइसकेको छैन । यस्तो अवस्थामा भोली महाधिवेशन भयो भने कतै आफूले हार्ने त होइन भन्ने भयमा देउवा छन् । किनकि उनले सभापतिमा पुनः दोहोरिने आकांक्षा देखाइसकेका छन् ।
उता वरिष्ठ नेता पौडेल पक्ष भने देउवाले सरकारमा रहेर केही राम्रा कार्यक्रम ल्याइहाले भने आफू तर्फका कार्यकर्ता देउवातिरै जालान र उनले सभापति जित्लान भन्ने भयमा छ । पौडेल पक्षको आशंका भनेको देउवाले साम,दाम,दण्डभेद अपनाएर कार्यकर्तालाई प्रभावित बनाउने भन्ने हुन कि भन्ने छ । त्यसकारण महाधिवेशन नसरोस भन्नेमा पौडेल पक्ष छ । तर पौडेल पक्ष एकजुट भएको खण्डमा देउवालाई सभापति बन्न त्यति सहजचाहि नहुनसक्छ । पौडेल पक्षले नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनुपर्ने माग मधुरो स्वरमा राखेको छ । तर देउवा यसमा सहमत छैनन् ।

अन्यौलमा कार्यकर्ता
कांग्रेस महाधिवेशनको प्रारम्भिक चरण भनेको वडा तहको अधिवेशन हो । तर क्रियाशील सदस्यता विवादले कांग्रेसको साउन १२ बाट हुने भनिएको अधिवेशन हुन सकेको छैन ।
तोकिएको समयमा महाधिवेशन गर्न नसक्दा कांग्रेसका कार्यकर्ता अन्यौलमा छन् । पार्टीको वैधानिकता माथि प्रश्न चिन्ह लाग्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा छ । समयमै महाधिवेशन गर्न नसक्ने नेतृत्वलाई कार्यकर्ताले दवाब दिन सकेका छैनन् । पौडेल पक्षले पनि निष्कर्षमा पुग्नेगरी सभापति देउवालाई महाधिवेशबारे दबाव दिन सकेको छैन । देउवा पक्षका कतिपय नेताले भदौमा वडा अधिवेशन प्रारम्भ गर्ने र महाधिवेशन ३ महिना पर सार्न सकिने तर्क गरिरहेका छन्। किनकि यसो गर्दा पार्टीको वैधता जोगिने उनीहरुको दाबी छ । भदौमा वडा अधिवेशन गर्दा महाधिवेशन समयमै शुरु भएको सन्देश जाने उनीहरुको तर्क छ । तर वरिष्ठ नेता पौडेल पक्ष भने यसमा सहमत छैन ।
आजै पौडेल पक्षको केन्द्रीय समिति बैठक पनि
वरिष्ठ नेता पौडेल समूहको केन्द्रीय समिति बैठक पनि आजै बसेको छ । कांग्रेस महामन्त्री महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय कार्य समितिका सदस्यहरुको बैठक बसेको हो ।
निर्धारित मितिमा पार्टी महाधिवेशन नहुने निश्चित भएपछि पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो । पार्टी नेतृत्वको असफलताका कारण महाधिवेशन हुन नसकेको वरिष्ठ नेता पौडेलको आरोप छ । पौडेलले कांग्रेसको १४ औं महाधिवेशन नियमित रुपमा हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग राख्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया