एकता अनुमोदन गर्न एमालेले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

काठमाडौँ, २२ चैत- एमालेले माओवादी केन्द्रसँगको एकता प्रस्तावमा छलफल गर्न केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको स्थायी समिति बैठकले ६ वैशाखमा पोलिटब्युरो र ७ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाएको हो, नयाँ पत्रिकामा खबर छापिएको छ ।दुवै पार्टीको एकता संयोजन समितिको बिहीबारको बैठकमा ९ वैशाख (२२ अप्रिल)मा पार्टी एकता घोषणा गर्ने प्रस्ताव गरिएको थियो । संयोजन समितिमा एकीकृत पार्टीको राजनीतिक र विधानसम्बन्धी प्रतिवेदन प्रस्तुत भइसकेकाले ९ वैशाखमा एकता घोषणासभा गर्ने समझदारीसमेत भइसकेको छ ।‘हामीले पार्टी एकताको महत्वपूर्ण ऐतिहासिक घटनाक्रम अघि बढिरहेका वेला केन्द्रीय कमिटी र पोलिटब्युरो बैठक बोलाएर छलफल गर्नुपर्ने बताउँदै आएका थियौँ,’ नेता सुरेन्द्र पाण्डेले भने, ‘बुधबारको बैठकले एकता प्रस्तावबारे छलफल गर्न बैठक बोलाएकाले सम्भवतः दुवै बैठकबाट एकता प्रस्ताव अनुमोदन हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?