पार्टी एकता सम्मानजनक र समानताका आधारमा मात्रै हुन्छ– प्रचण्ड

काठमाडौँ, १२ चैत – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले नेकपा(एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताएका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उनले भने , “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।”अध्यक्ष दाहालले पार्टी एकताको सन्दर्भमा विचार र राजनीतिको विषयमा सहमति भइसकेको तथा छिट्टै नै संगठनका सन्दर्भमा पनि सहमति हुने बताउँदै पार्टी एकता संयोजन समितिले गठन गरेका दुई वटा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए ।केही दिनभित्रै सम्पूर्ण खाका तयार हुने उल्लेख गर्दै उनले नेपाली जनतालाई नयाँ विश्वास पैदा गर्न एकताको अभियान शुरु गरिएको स्पष्ट पारे ।अध्यक्ष दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा एमाले र माओवादी केन्द्रको फरकफरक र महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै फरकफरक राजनीतिक धार र चिन्तनबाट स्थापित दुई पार्टीबीचमा एकता हुन लागेको हुँदा दुबै पार्टीको चिन्तनलाई समानजनक स्थान दिनुइनुपर्ने बताए ।आइतबारदेखि शुरु भएको अखिल (क्रान्तिकारी)को प्रशिक्षणलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत नेताहरुले प्रशिक्षण दिनुभएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?