राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले उनलाई आज बधाई सन्देश पठाउँदै भियतनामको राष्ट्रपतिमा निर्वाचित हुनु उनीप्रतिको भियतनामी जनताको विश्वास र भरोसाको प्रमाण भएको बताएकी छिन् । सन्देशमा राष्ट्रपतिले उनको सक्षम नेतृत्व तथा भियतनामको विकास र समृद्धिका निम्ति उहाँले गर्नुभएको योगदानको सम्मान हो भनेकी छिन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामको प्रधानमन्त्रीमा पाम मिन चिन बहाल भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले सन् २०१९ मा भएको आफ्नो भियतनाम भ्रमणको स्मरण गर्दै दुई देशबीच विद्यमान सांस्कृतिक सामिप्यता र मैत्रीपूर्ण सम्बन्ध प्रधानमन्त्री चिनको कार्यकालमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?