स्वास्थ्य बीमा कार्यक्रममा थप ६ जिल्ला जोडिए

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।

आज बुधवार बाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम शुरु गरिएको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ ।

कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यबिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्नुपर्नेमा जोड दिए । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको बताए ।

मन्त्री त्रिपाठीले स्वास्थ्य बीमामा सहभागी भएका विमितहरुको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । स्वास्थ्य बीमाका विमितहरुलाई दिईने सेवा सुविधालाई बोझको रुपमा नहेर्न उनले चेतावनी नै दिए ।

उनले भने “अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रुपमा बनाउने प्रयत्न सेवाग्राही संस्थालाई अस्पतालहरुले नगर्नुहोस् । आफ्नो संस्था आफैले सुदृढ गर्ने काममा लाग्नुहोस् । विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।”

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट शुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्य बीमा कार्यक्रम आज बाट ७५ वटा जिल्लामा लागु भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरुले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन् ।

५ जना सम्मको परिवार भएको विमितले प्रतिबर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउछन् । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?