सुदूरपश्चिममा भीम रावलद्वारा समानान्तर कमिटी घोषणा, कुन जिल्लामा को ? (नामावलीसहित)

टेकसिंह धामी । धनगढी । सुदूरपश्चिममा भीम रावलले नेकपा (एमाले)को समानान्तर समिति घोषणा गरेका छन्।

झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको मंगलवार सकिएको प्रदेश स्तरीय विस्तारित बैठकले रावलको संयोजकत्वमा कमिटी घोषणा गरेको हो।

खनाल-नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर कमिटी नभई अपूर्ण रहेको कमिटीको पूर्णता भनेका छन्।

कैलाली जिल्ला कमिटीका सदस्य दीर्घ जोशीले भीम रावलको संयोजकत्वको कमिटी आधिकारिक भएको दाबी गरे।

‘भीम रावलको नेतृत्व नै आधिकारिक हुन्छ नि। अहिले आएकालाई जिम्मेवारी तोक्दैमा हुँदैन,’ उनले भने, ‘हाम्रो समानान्तर कमिटी होइन, यो आधिकारिक हो, विस्तारित बैठकले पूर्णता दिने काम गरेको हो।’

प्रदेश, जिल्ला, स्थानीय तह र भातृ संगठनमा अपुरो रहेका पदमा जिम्मेवारी तोक्दै बाँकी रहे जिल्ला कमिटीले नै तोक्न सक्ने गरी बैठकमा निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए।

माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेमा ७१ जनाको प्रदेश कमिटी थियो।

एकतापछि तत्कालीन नेकपा हुँदा प्रदेशमा १८२ सदस्यीय कमिटी बनेको थियो। खनाल(नेपाल पक्षको एमालेका प्रदेश कमिटी सदस्य तथा कार्यालय सचिव दिनेश सुवेदीले बैठकले प्रदेशमा सबै कमिटीलाई पूर्णता दिने गरेको बताए।

‘अहिले पनि १८२ जना हाराहारीकै संख्यामै कमिटी बन्छ होला,’ उनले भने।

कमिटीको विस्तारित स्वरूपबारे भने केहीदिनमै पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने उनले बताए।

एमाले उपाध्यक्षसमेत रहेका नेता भीम रावललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ। रावल तत्कालीन एमाले हुँदा र पछि एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी हुँदा पनि सुदूरपश्चिम इन्चार्ज थिए।

पछिल्लो समय अध्यक्ष ओलीले रावललाई हटाएर माओवादीबाट आएका लेखराज भट्टलाई प्रदेश इन्चार्ज तोकेको छ।

दुई दिन बसेर मंगलबार दिउँसो सकिएको बैठकले नौ वटै जिल्लामा अध्यक्षको टुंगो पनि लगाएको छ। केही जिल्लामा पहिल्यै तोकिएकालाई यथावत राखिएको छ भने तोक्न बाँकी रहेका जिल्लामा नयाँलाई जिम्मेवारी दिइएको छ।

कुन जिल्लामा को ?

कैलाली– दीर्घ सोडारी

कञ्चनपुर– तारा लामा तामाङ

डोटी– चक्र बहादुर मल्ल

डडेल्धुरा– तारा जोशी

बैतडी– महादेव भट्ट

अछाम– शेर बहादुर कुँवर

बझाङ– दिल बहादुर सिंह

बाजुरा– गगन रावल

दार्चुला– तोक्न बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?