जेठ र असारमा कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुग्न सक्ने सरकारको संकेत

काठमाडौं । सरकारले आगामी जेठ र असारमा कोभिड संक्रमणको दर उच्च बिन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभाको आज (सोमवार)को बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न आग्रह गरेका हुन् । पछिल्लो समय कोभिड संक्रमितहरु बढ्दै गएको र छिमेकी भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना नगरे जेठ असारमा पुन उच्च दरमा पुग्न सक्ने बताए ।

उनले भने “कात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशःकात्तिक पछाडिका दिनहरुमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो साता देखि निकै कम भईसकेकोमा पुन संक्रमण बढ्दै गईरहेको छ । अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेष्ठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितहरुको संख्या ११ हजार ५ सय ६३ बाट एक्कासी बढेर चैत्र २२ गते ९२ हजार ९ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ । कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शिघ्र पहिचान,आइसोलेसन र शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टीन र जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुको साथै समयका हिसाबले पर धकेल्न सकिने भएकोले यसतर्फ सबैको ध्यान जरुरी छ । ”

उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । उनले गत पुस २० गते नै कोभिड १९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरु भएको बताए । खोपको आपतकालिन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधी तेश्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसदको पहिलो बैठकमा पेश हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे ।

मन्त्री त्रिपाठीले दिएको जानकारी अनुसार, चैत्र २२ गते सम्म २२ लाख ८५ हजार भन्दा बढीको नमुना परीक्षण गरिएको छ । २ लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भईसकेका छन् । ३ हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण मृत्यु हुनेको दर १ दशमलब १ प्रतिशत मात्रै रहेको छ । कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । उनले पछिल्लो परिणामले विस्तारै पोजेटिभ केसहरु बढ्दै गएको संकेत गरेको बताए ।

सरकारले महामारी रोकथामका लागि बैज्ञानिक यथार्थपरक नीतिहरु तर्जुमा गरि बहुक्षेत्रिय सहयोग र समन्वयन गर्दे आएको पनि उनले स्पष्ट पारे । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै स्थानीय सरकारहरुको समन्वय, सहयोग तथा सहकार्यका कारण कोभिड का कारण मृत्यु हुने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताए ।

उनले कोभिड १९ सताब्दीकै प्रमुख चुनौतिको रुपमा रहेको र त्यसले मानवस्वास्थ्यको संगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे ।
उनले मुलुकभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वारेन्टीन लगायत बारे पनि विस्तृत जानकारी गराएका थिए । उनले कठिन समयमा पनि सरकारले औषधी औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

उनले असार भित्र ६० लाख मानिसहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको बताए । उनले पहिलो खोप लगाएकाहरुको दोस्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागि विश्वस्त हुन आग्रह गरे ।

उनले भने “चैत्र २२ गते सम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७ सय ८१ जनाले कोभिड १९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरुलाई २०७८ बैशाख ७ गते देखि ११ गते सम्म दोश्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरुको खोप सुरक्षित छ । त्यो लगाईएको छैन । भण्डारणमा छ । अन्यथा प्रचार प्रशारमा पर्नु जरुरी छैन ।”

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत अहिलेसम्म ५ अरब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको पनि उनले जानकारी दिए ।

पीसीआर,किट,गाउन औषधी उपकरण व्यवस्थापन, खोप खरिद, अभियान,स्वास्थ्यकर्मी को जोखिम भत्ता लगायत सम्पुर्ण विषय अन्तर्गत खर्च यसमा समेटिएको छ । मन्त्री त्रिपाठीले दिएको जानकारी अनुसार २ अरब ५४ करोड ५८ लाख रुपैया भने भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका सम्पुर्ण खर्चबारे श्वेत पत्र जारी गर्न आफु र मन्त्रालय तयार रहेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?