मूल्यवृद्धि खारेज नभए आपूर्तिमन्त्रीलाई कालोमोसो दल्ने अनेरास्ववियूको चतावनी

काठमाडौं । एमाले नेता माधव कुमार नेपाल निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का अध्यक्ष सुदेश पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई कालोमोसो दल्ने चतावनी दिएका छन् ।

आज (सोमवार) पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै नेपाल निकट अनेरास्ववियूका अध्यक्ष पराजुलीले मूल्यवृद्धि खारेज नभए आपूर्तिमन्त्रीलाई कालोमोसो दल्ने चतावनी दिएका हुन् ।

निगमले आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियूले विरोध प्रदर्शन पछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूका अध्यक्ष पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको बताए । मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने बताए ।

उनले ७२ घण्टा भित्र पनि मूल्य फिर्ता नगरे क्याम्पस आसपास गुडेका निगमका सवारीसाधन तोडफोड गर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्रपन्ध्र दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुरुप मूल्य वृद्धि गरिएको बताए । निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउने वित्तीकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

यद्यपी विद्यार्थीहरुको माग जायज भएकोले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत बताए । उनले आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने पनि स्पष्ट पारे ।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ ।

आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?