वागमती प्रदेशका ८० मध्ये ४५ सांसदको प्रस्ताव- ‘मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य’

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्। मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै नेकपाको प्रचण्ड–माधव समूहका ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।

सांसदहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गरेका छन्। अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन्।

यस अघि आजै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजिनामा दिएका थिए ।  उनीहरूले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले जनताको भावना अनुरुप काम गर्न नसकेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेसँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारमा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?