काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकटको केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री तथा पार्टी नेता प्रदीप ज्ञवालीलाई चयन गरेको छ । आज बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्ता चयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । समग्र पार्टीको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ रहँदै आएका थिए ।
‘पार्टी प्रवक्ताको नयाँ जिम्मेवारी कमरेड प्रदीप ज्ञवालीले पाउनु भएको छ’, थापाले भने । ओली समूहको बैठक केहिबेरअघि सकिएको छ ।
ओलीले केन्द्रीय समिति विस्तार गरी मनोनित सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् ।
मंगलवार बसेको आफूपक्षीय समूहको बैठकको अध्यक्षता गरेको ओलीले ५५६ थप गरी कुल केन्द्रीय सदस्य संख्या ११९९ पुर्याएका छन् । सोमवार बसेको बैठकमा ओलीले ५५६ जनाको केन्द्रीय सदस्य थप गर्ने प्रस्ताव गरेका थिए भने आजको बैठकले उक्त प्रस्तावको अनुमोदन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
पहिले नेकपा केन्द्रीय कमिटीमा ४४७ रहेको थियो । ५५६ जना केन्द्रीय सदस्यसंख्या थपिएसँगै १,००३ जनाको केन्द्रीय कमिटी बनेको र रिक्त संख्या १९६ रहेको उनले जानकारी दिए ।
उनले भने, “अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजो मनोनयन गर्नुभएको थियो । उक्त नामावली अनुमोदन गर्न बैठकमा प्रस्ताव गर्नुभएको छ । र, बैठकले गडगडाहट तालीका साथ उहाँको प्रस्ताव अनुमोदन गरेको छ ।
कूल सदस्य संख्या- १,१९९
मौजुदा संख्या – ४४७
मनोनित संख्या- ५५६
हालको जम्मा संख्या- १,००३
रिक्त संख्या- १९६ ।
मनोनित सदस्य कमरेडहरूलाई बैठकमा अध्यक्ष कमरेडले सपथग्रहण समेत गराउनु भएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया