काठमाडौँ- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको उल्लेख गर्दै समर्थन फिर्ता लिएको हो । अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको तिव्र विरोध र भत्सर्ना गरेका छन् ।
जारी विज्ञप्तिमा भनिएको छः ‘हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल स्थितिमाथि विचार गरेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ ।’
सो पार्टीले यसअघि पौष १० गते सम्मका लागि तय गरिएका संघर्षका कार्यक्रम यथावत रुपमा सञ्चालन हुने जनाउँदै संसद विघटन गलत भएकाले त्यसको पुनर्स्थापनामा जोड दिएको छ ।
गणतन्त्र र धर्म निरपेक्षता समाप्त गर्न प्रतिगामी शक्तिहरुले तिव्र रुपमा गतिविधिहरु बढाइरहेको पार्टीको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया