काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।
सोमवार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव पक्षका सांसदहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन अस्वीकार गर्ने र तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान बमोजिम संसद बैठक बोलाउने समय भईसकेकोले संसद अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताए । उनले भने, ‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरित प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भुमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधि सभाको विघटनले सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपति समेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ । संविधान बमोजिम संसदको अधिवेशन बोलाउनुपर्ने समय भइसकेकोले संसदको अधिवेशन अविलम्ब आव्हान गर्न यो बैठक माग गर्दछ ।’
बैठकले संविधान अनुसार प्रतिनिधि सभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीसँग नभएको ठहर गर्दै विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै संसदको नियमित कार्य अघि बढाउन माग गरेको हो । अहिलेको परिस्थितिमा एकताबद्ध हुन सबैमा आह्वाान गरेको प्रमुख सचेतक गुरुङले बताए । उनले भने, ‘नेपालको संविधान र लोकतन्त्र माथि नै प्रहार भएको र देशको राजनीतिक भविष्य अनिश्चयतर्फ धेकेलिएको यस घडीमा राष्ट्रिय हित, संविधान र लोकतन्त्रका पक्षधर सबै माननीय सदस्यहरु, राजनीतिक दल, पत्रकार नागरिक समाज र आम जनसमुदायलाई एकताबद्ध भई प्रतिनिधि सभाको कथित विघटनको विरुद्धमा तथा लोकतन्त्रको पक्षमा अघि बढ्न यो बैठक हार्दिक आह्वान गर्दछ ।’
प्रमुख सचेतक गुरुङले संसद विघटनको कदम विरुद्ध पार्टीले कानूनी र राजनीतिक प्रक्रिया अघि बढाउने बताएका छन् । सांसदहरुको अर्को भेला बुधवार बोलाईने पनि नेता गुरुङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया