बिदाइ हुँदा निवर्तमान मन्त्री योगेश भट्टराईले १७ महिने कार्यकाल सम्झिँदै भने-‘दुःखी छौँ’

काठमाडौं – निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको औपचारिक बिदाई कार्यक्रम भएको छ ।

मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन् । लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘‘यसलाई ट्रयाकमा ल्याउन मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पर्‍याउँछन् । त्यहाँका मान्छेहरु ठिक छन् भने । सतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुर्नस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको उनले बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन् । कानून र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतिक मुल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’’

भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फूलगुच्छा र मायाको चिनो दिएका छन् ।

मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान विदाइ गरेका छन् ।

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री
निवर्तमान मन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताएका छन् । बिदाइ कार्यक्रममा आफ्नो १७ महिने कार्यकालमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९ सङ्क्रमणको विषमावस्थामा पनि मन्त्रालयले नीतिगत र प्रशासनिक सुधारका काम गरेको जिकिर गरे ।
नागरिक उड्डयनतर्फ पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउँदै उनले भने, “चाहेर पनि मन फूकाएर काम गर्न र प्रभावकारी योजना अघि बढाउन सकिएन । सङ्कुचित र नियन्त्रित ढङ्गले काम गर्नुपर्ने बाध्यता थियो, त्यसैले सोचेअनुरुप उपलब्धि भएन ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भट्टराईले विसं २०७६ साउन १५ गते पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दा आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन तथा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेका सन्दर्भमा बढी नै जिम्मेवारी थियो । मुलुकको अर्थतन्त्रको मुख्य आधार पर्यटन क्षेत्रमा पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरी अर्थतन्त्रलाई बलियो बनाउने दायित्वलाई पनि आत्मसात् गरेर कार्ययोजना अघि बढाइएको पूर्वमन्त्री भट्टराईले बताए ।
गत आइतवारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले हिजै आफ्नो राजीनामा घोषणा गरेका थिए ।तस्वीर सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?