सर्वदलीय बैठकमा सरकारलाई कांग्रेसले भन्यो- तपाईंहरु सच्चिनूस् !

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई सच्चिन सुझाव दिएको छ ।

विभिन्न समसामयिक राजनीतिक घटनाक्रमहरुका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आजको लागि बैठक आह्वान गरेका थिए ।

बैठकमा सरकारले गरिररहेका नकारात्मक कामहरुका बारेमा समिक्षा गर्दै सरकारलाई सुधारिन आग्रह गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले लोकपथलाई जानकारी दिए । साथै सरकारकै कारण संवैधानिक निकायहरु कमजोर बन्दै गइरहेकोप्रति सरकारलाई सचेत गराएको उनले बताए । “आजको बैठकमा मुख्यतः सरकारको अकर्मन्यताका कारण कोभिडको कुव्यवस्थापन, संवैधानिक संस्थाहरुको कमजोरी, सरकारले जनताको कुरा नसुनी आफूखुसी काम गरेको लगाए विषयमा जानकारी गराएका छौँ ।” उनले थपे, “सरकारका तर्फबाट भइरहेका व्यापक कमजोरीका कारण जनताहरु निराश भइरहेको र सरकार तत्काल सच्चिनुपर्ने सुझाव दिएका छौँ ।

पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा नाराजुलुस भइरहेको छ । राजावादीहरुको आन्दोलन भइरहेका बेला आजको बैठकमा व्यवस्थामाथिनै प्रश्न खडा गरेको भन्दै त्यस विषयमा छलफल समेत भएको थियो ।

यसै प्रशंगमा सहमहामन्त्री महतले भने- “सरकारकै कमजोरीका कारण देशभर विभिन्न झुण्डहरुले प्रदर्शन गरिरहेका छन् । जसको कारण व्यवस्था नै धरापमा पर्ने पो हो कि भन्ने संकट पैदा भएको छ ।

सरकारको गलत क्रियाकलापको बारेमा कांग्रेसले दिएको सुझावमा सरकारको प्रतिक्रिया कस्तो छ भन्ने लोकपथको प्रश्नमा सहमहामन्त्री महतले भने- “सकारात्मक रुपमा लिनु भएको छ । संसद बैठक आह्वान लगायतका मागसहित २९ गते देशभर हुने प्रदर्शनको बारेमा समेत हामीले सचेत गराएका छौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?