अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण प्रक्रिया पुनरावलोकन गर्न खाँदबारीका प्रभावित जग्गाधनीले माग गरेका छन् ।

खाँदबारी नगरपालिका क्षेत्रका प्रभावित जग्गाधनीले मुआब्जा निर्धारणका क्रममा पर्याप्त छलफल, सहभागिता र पूर्वजानकारी नगराइएको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग पुनरावलोकनको माग गरेका हुन् ।

अरुण तेस्रो ४०० केभी प्रसारण लाइन सहजीकरण समूहले प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै मुआब्जा निर्धारण प्रक्रिया पुनरावलोकन गरी उचित क्षतिपूर्ति र न्यायोचित निर्णय गर्न माग गरेको छ ।

मुआब्जा पुनरावलोकन सहजीकरण समितिका संयोजक नवीन भण्डारीले प्रभावित जग्गाधनीसँग पर्याप्त छलफल र परामर्श नगरी मुआब्जा निर्धारण प्रक्रिया अघि बढाइएको बताए ।

समूहका सचिव छवि गुरुङले निजी सम्पत्ति, आर्थिक अवस्था, भविष्यमा जग्गाको उपयोगिता र जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा सरोकारवालालाई पूर्वजानकारी नदिइएको बताए ।

समितिले यस विषयमा गृह मन्त्रालयमा समेत निवेदन पेस गरेको जनाएको छ । प्रभावित जग्गाधनीले प्रसारण लाइन निर्माणबाट पर्ने असरलाई ध्यानमा राखी निष्पक्ष र पारदर्शी रूपमा समस्या समाधान गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?