चिसो बढ्यो, हुम्ला र खप्तडमा हिमपात

हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

यस्तै मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।
यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा चिसो बढेको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिउँ करिब आधा फिट जति परेको उद्योग वाणिज्य सङ्घका महासचिव तथा खप्तड झिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?