गोली लागेर घाइते मेयर चौधरीलाई भेट्न पुगे प्रधानमन्त्री

काठमाडौँ, ३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्थाबारे आज जानकारी लिएका छन् ।त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी उनले नगरप्रमुख चौधरीको स्वास्थ्य अवस्थाको जानकारी लिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।उक्त अवसरमा प्रधानमन्त्रीले चौधरीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।प्रधानमन्त्री ओलीले अस्पताललाई चौधरीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिए ।“उपचार खर्च सरकारले व्यहोर्छ”, प्रधानमन्त्री ओलीले भने , “उहाँको उपचारमा कुनै पनि कसर बाँँकी नराखी उपचार गर्नुहोस् ।”सोही अवसरमा उनले चौधरीको घटनाबारे निष्पक्ष छानबिन हुने परिवारका सदस्यलाई बताए । उनले घटनामा संलग्नलाई कानूनअनुसार कारवाही हुनेसमेत बताए ।चौधरीको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओलीका साथमा नेकपा (एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, एमाले केन्द्रीय सदस्य डा राजन भट्टराईसमेत अस्पताल पुगेका थिए ।सोही अवसरमा चौधरीको उपचारमा संलग्न चिकित्सक डा प्रदीप थापासँग पनि प्रधानमन्त्री ओलीले जानकारी लिए ।नगरप्रमुख चौधरीलाई अपरिचत समूहले गत फागुन २८ गते घरमा बसिरहेका बेला गोली र खुकुरी हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?