काठमाडौं, ३० फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले समयको मागअनुसार संविधान संशोधन गर्न सकिने बताएका छन् ।आज बालुवाटारमा प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘समयको मागअनुसार आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ ।’उनले भने, देशलाई नोक्सानी हुने, अखण्डतामा असर पर्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद तर एकतावद्ध पार्नका लागि संविधान संशोधन हुन्छ ।’प्रधानमन्त्री ओली सरकारले हिंसा र अपराध रोक्न कडा कानुनका साथ लागि पर्ने पनि बताए । ‘अब बलात्कार, हत्या र अपहरण जस्ता घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान चलाइन्छ’ उनले भने ‘कडा कानुन बनाएर कार्यन्वयन गर्छौ ।’प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने दोर्होयाए । सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने जस्ता प्रचार गरेर भ्रम छर्न खोजेको भन्दै उनले भने, ‘यस्ताभ्रममा पर्नु हुँदैन । सत्यलाई छोपेर जनतालाई भ्रमित पार्ने समय अब सकियो ।’यसैगरी प्रधानमन्त्री ओलीले ७ प्रदेशका सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिए । जनताको मतले सांसद भएका भन्दै ओलीले सांसदका हरेक क्रियाकलाप जनताको हतिका निम्ति हुनुपर्ने बताए ।चियापान कार्यक्रममा एमाले, माओवादी केन्द्र, फोरम र राजपाका प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया