पहिरो पीडितको उद्धार तथा राहतमा जुट्न प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न ठाँउमा आएको बाढी पहिरोमा परेकाहरुको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।

गएराति सिन्धुपाल्चोकमा गएको पहिरोमा परि २ जनाको मृत्यु भएको छ भने १८ जना वेपत्ता रहेका छन् ।

त्यस्तै गुल्मी, बझाङ लगायतका जिल्लामा बाढी पहिरोका कारण घरबार गुमाएकाहरुको तत्काल उद्धार र राहतमा जुटन निर्देशन दिएका हुन् ।

आज एक विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, “सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्‍न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ, यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु । अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहीन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम् परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?