काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नहुने जनाएको छ । प्राधिकरणले उक्त दिन करिब एक हजार ९०० देखि दुई हजार मेगावाटसम्म विद्युत् माग हुने अनुमान गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार अहिले विद्युत् उत्पादन र आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध छ । पछिल्लो समय भएको वर्षाका कारण नदीमा पानीको बहाव राम्रो रहेकाले विद्युत् उत्पादनमा पनि सहजता रहेको उनले बताए ।
उनका अनुसार प्राधिकरणसँग दुई हजार ७०० देखि दुई हजार ८०० मेगावाटभन्दा बढी विद्युत् उपलब्ध गराउन सक्ने क्षमता छ । त्यसैले लक्ष्मीपूजाका दिन हुने विद्युत् माग सजिलै व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
लक्ष्मीपूजाका दिन घरघरमा बत्ती बाल्ने चलन भएकाले अन्य दिनभन्दा विद्युत् खपत बढ्छ । तर, त्यस दिन केही उद्योग तथा कलकारखाना बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा विद्युत् खपत घट्नेछ । घरायसी क्षेत्रमा खपत बढे पनि समग्र विद्युत् माग दुई हजारदेखि दुई हजार १०० मेगावाटभन्दा माथि नपुग्ने प्राधिकरणको अनुमान छ ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को उच्च माग एक हजार ६०० देखि एक हजार ७०० मेगावाटसम्म पुगेको थियो । यस वर्ष भने विद्युत् खपत बढ्ने अनुमान गरिएको छ ।
प्राधिकरणले विद्युत् उत्पादन पर्याप्त भए पनि वितरण प्रणालीमा भने केही समस्या आउन सक्ने जनाएको छ । घरमा जडान गरिएका मिटर, एमसीबी र अन्य विद्युतीय उपकरणमा बढी भार पर्दा मिटर बिग्रिने वा एमसीबी बन्द हुने समस्या देखिन सक्छ ।
त्यस्तै, विद्युत् वितरणमा प्रयोग हुने ट्रान्सफर्मर र ११ केभीका फिडरमा पनि बढी भार पर्न सक्ने भएकाले प्राधिकरणले विशेष तयारी गरेको छ ।
कार्यकारी निर्देशक श्रेष्ठका अनुसार बढी भार भएका ट्रान्सफर्मरको लोड घटाउने, आवश्यकताअनुसार विद्युत् भार अन्य स्थानमा सार्ने र फिडरको व्यवस्थापन गर्ने काम भइरहेको छ । विद्युत् भार १५ देखि २० प्रतिशतसम्म बढे पनि व्यवस्थापन गर्न सकिने गरी तयारी गरिएको उनले बताए ।
विद्युत् अवरुद्ध भए तत्काल मर्मत गर्न प्राधिकरणका प्राविधिक तथा कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ । कुनै स्थानमा विद्युत् सेवा बन्द भए १५ देखि २० मिनेटदेखि बढीमा आधा घण्टाभित्र पुनः सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया