‘निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेससँग जोडिएको इनम सापकोटा प्रकरणबारे छानबिन गर्न माग गरेका छन् ।

केही दिनअघि प्रहरी अनुसन्धानमा रहेका विचौलिया इनमको भन्दा बाहिरिएको अडियोमा कांग्रेसमाथि गम्भीर आरोप लगाइएको थियो । त्यसबारे कांग्रेस सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न खोजेको भन्ने विषय बाहिरिएपछि महामन्त्री पौडेलले त्यसबारे प्रधानमन्त्रीका सल्लाहकारमाथि नै गम्भीर प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले उनै सापकोटाको मोबाइल दुई दिनसम्म ललितपुरको ज्वागलस्थित आफ्नो निवासमा राखेको भन्ने विषय बाहिरिएपछि त्यस विषयमा छानबिन गर्न माग गरे ।

‘विधिको शासन भएको भए यतिबेला अनुसन्धानको कठघरामा हुनुपर्ने व्यक्ति हुन्—प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन । प्रश्न गम्भीर छन् । फरेन्सिक परीक्षण हुनुअघि इनम सापकोटाको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो ? त्यो अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने विषयमा उठेका प्रश्नहरूको जवाफ कसले दिने ?,’ प्रश्न गर्दै उनले भनेका छन्, ‘प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने होइनरु अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो ? कुन कानुनी अधिकारले ? कसको निर्देशनमा ? के लुकाउन खोजिएको थियो ? के मेटाउन खोजिएको थियो ? र कसलाई जोगाउन खोजिएको थियो ?’

यसैगरी उनले अनुसन्धानमा रहेको डिजिटल प्रमाणहरु अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु र त्यसमा छेडछाड भएको आशंका उठ्नु गम्भीर रहेको बताए । साथै उक्त विषय सत्य हो भने निष्पक्ष छानबिन गगन थापामाथि नभएर कुमार बेनमाथि हुनुपर्ने उनको तर्क छ ।

‘अनुसन्धानमा रहेको डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु र त्यसमा छेडछाड भएको आशंका उठ्नु कति गम्भीर विषय हो, त्यो पनि सोध,’ उनले भनेका छन्, ‘अनि अर्को प्रश्न पनि सोध—निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?