कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्तो छ एजेण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।

आइतवार (हिजो) बसेको बैठकले पार्टीको १४ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो । भने आजको बैठकमा पनि महाधिवेशनलाई मुख्य केन्द्रमा राखेर छलफल अघि बढाइने बताइएको छ ।

आइतवार बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दलका नेता तथा प्रधानमन्त्रीसँग भेटेको प्रशंगमा समेत छलफल भएको थियो । सभापति देउवाले आफूले नेकपाको आन्तरिक विवादमा कुनै पनि पक्ष विपक्षमा नलाग्न र छिटो भन्दा छिटो वार्ताबाट समाधान खोज्न आग्रह समेत गरेका थिए ।

कांग्रेसले आगामी महाधिवेशनको लागि कार्यतालिका सार्वजनिक गरेपनि कोरोना महामारीको कारण रोकिएको थियो ।
गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो।

कार्यतालिका अनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो। तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कांग्रेसको १४ औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो।

साथै उक्त विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?