निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताका लागि निवेदन परेको छ ।

तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भइसकेपछि एमाले अस्तित्वमा नरहेको बेला नेकपा एमाले नाममा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको हो ।

यस विषयमा मंगलवार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो स्थायी कमिटि बैठकमा पनि छलफल भएको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले लोकपथलाई बताए ।

के भएको थियो चौथो बैठकमा ?

पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो बढेको छ । दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बाहिरै देखिनेगरी दोषरोपणहरु हुन थालेका छन् । लामो समयपछि गत असार १० गतेबाट बसिरहेको नेकपाको स्थायी कमिटि बैठकले विभिन्न ७ एजेण्डा पास गरेपनि एजेण्डाभन्दा अध्यक्ष ओलीको आलोचना र सरकारको काम गराइ प्रतिको टिप्पणीले बैठकमा स्थान पाइरहेको छ ।

मंगलवार बसेको स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै छोड्न आग्रह गर्दै आक्रोश व्यक्त गरेका छन् । आइतवार स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरेकोमा रिसाउँदै भारतले आफूलाई हटाउँन लागेको र केही नेताहरुले साथ दिएको अभिव्यक्ति दिएका थिए । यसै प्रसंगलाई समेत जोड्दै अध्यक्ष दाहालले भने, “तपाई अध्यक्ष पनि छाड्नुस् प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन मैले भनेको हो ।”

ओलीको राजीनामा समेत माग, के के भयो बैठकमा ?

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएपछि प्रचण्डले ओलीसँग अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा मागेको बुझिएको छ ।

नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच विवाद हुँदा राजीनामाको समेत माग हुने अवस्था आएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर ओलीले गल्ती गरेको टिप्पणी गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । बैठकमा विवादले नयाँ रुप लिएपछि नेकपा बैठक नयाँ मोडमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?