काठमाडौं । राष्ट्रिय एकता अभियानले सोमबार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने क्रममा नेपाल–चीन सीमाबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको मन्तव्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
२०६१ सालमा नेपालको अधिनमा रहेको गोरखा जिल्लाको रुई गाँउलाई त्यहाँको जनताको स्वेच्छाले चीनतर्फ पारिएको उनको अभिव्यक्ति नेपाल राष्ट्रको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, अखण्डता र सार्वभौमसत्ताविरोधी मात्र नभई त्यसले नेपालको विखण्डनवादी शक्तिहरुलाई मलजल पुर्याउने सो अभियानको ठहर छ ।
‘के रुई गाँउलाई आत्मनिर्णयको अधिकार थियो ? के कसैको स्वेच्छाको भरमा नेपालको भुभागलाई अन्य मुलुकमा गाभ्न नेपालको त्यसबखत या अहिले कुनै कानुनले दिन्छ ? त्यस गाँउको जनताको स्वेच्छा प्रकट गरेको प्रमाण के हो ? भोलिको दिनको अन्य भूभागको जनताले त्यसरी नै स्वेच्छा प्रकट गरी अन्य मुलुकमा गाभिन चाहेमा दिने कि नदिने ? जस्ता गम्भिर प्रश्नहरु उब्जिएका छन्’, अभियानका संयोजक विनय यादवको विज्ञप्तिमा भनिएको छ ।
अभियानले रुई गाँउका जनताले आफ्नो भूभागसहित चीनमा गाभिन स्वेच्छा प्रकट गरेको प्रमाण सार्वजनिक गर्न माग गर्दै प्रमाण छैन् भने त्यहाँको जनताको राष्ट्रियता र राष्ट्रिय भावनामाथि कुठाराघात गर्ने अभिव्यक्ति दिएका परराष्ट्रमन्त्रीलाई यथाशीघ्र बर्खास्त गर्न माग गरेको छ ।
रुई गाँउलाई चीनतर्फ नेपालको भूभागमा पार्न सहयोग पुरयाएका सबै सम्बधित व्यक्तिहरुमाथि राष्ट्रद्रोहको कारवाही गरी अबिलम्ब रुई गाउँलाई नेपालको नक्सामा पारी यथासिघ्र नक्सा प्रकाशित गर्न पनि अभियानले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया