नेकपा स्थायी कमिटि बैठक शुरु, के छ एजेण्डा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बुधबारदेखि शुरु स्थायी कमिटी बैठकमा आज स्थायी कमिटी सदस्यहरुले धारणा राख्नेछन्।

यसअघि बुधवार बसेको बैठकले विभिन्न सात एजेण्डाहरु पारित गरेको थियो । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस कोभिड–१९ का विषयमा स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने स्रोतले बताएको छ ।

बुधबारको बैठकमा अध्यक्षद्वयले तय गरेको एजेन्डामाथि सदस्यहरुले असन्तुष्टि जनाएपछि केही एजेन्डा थपिएका थिए।

लामो समयदेखि एमसीसीबारे सत्तारुढ नेकपाले निर्णय गर्न नसक्दा यसबारेको अन्योलता बढेको छ । नेकपा भित्रै पनि एमसीसीलाई लिएर तिव्र विवाद छ । त्यसैले जारी बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डा तय गरेको थियो ।

सोहीअनुरुप बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए। त्यसबखत केहि असन्तुष्टि पनि बाहिर आएको थियो ।

एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदैछ सोही दिन दिउँसो संसद बैठक बस्दैछ ।

त्यहि बैठकको लागि पनि सत्तारुढ नेकपाको जारी बैठक महत्वपूर्ण मानिएको छ ।

आगामी असार १७ गते संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निस्क्रिय हुनेछ ।

यससँगै नेपाललाई अमेरिकाले दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिनेछ । अहिले सिंगो देश एमसीसीको विषयलाई लिएर पुरै विभाजित देखिएको छ ।

के के थियो बैठकको ७ एजेण्डा ?

१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२. कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३. सीमा समस्या र समाधानबारे

४. सरकारको कामको समीक्षा

५. पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता

६. एमसीसीबारे

७. विविधि । यसमा एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?